काठमाडौ, २४ भाद्र – नेपालका शताव्दी पुरुष अग्रज संस्कृतिविद डा. सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले संस्कृतिविद् डा.सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २५ सय दरका चाँदीका सिक्का सार्वजनिक गरेको हो।
ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित एक कार्यक्रममाझ जोशीको तस्वीर अंकित सिक्का नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरे ।
ललितपुरमा संस्कृतिविद् डा.जोशीको जन्म शताब्दीको अवसर पारेर उक्त सिक्का सार्वजनिक गरिएको हो । सिक्का सार्वजनिक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका साथमा डा. सत्यमोहन जोशी आफैको पनि विशेष सहभागिता रहेको थियो।
नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधिसमेत प्राप्त गरेका डा.जोशीले विभिन्न नेपाली नोटहरूमा अंकित चित्रको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदरस्वरूप नेपाल राष्ट्र बैंकले डा.जोशीको तस्वीर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो।