पृथ्वी प्रज्ञा पुरस्कार’ संस्कृतिविद् सत्यमोहन जोशीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १०:५६

काठमाडौं, ०१ असोज – संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाल प्रज्ञा-प्रतिष्ठानले चार लाख रुपैयाँ राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रदान गर्ने भएको छ। मंगलबार बसेको प्राज्ञसभाले पृथ्वी प्रज्ञा पुरस्कार जोशीलाई प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार चार चार वर्षमा प्रदान गर्दे आइएको छ ।

सँगै प्रज्ञाले दुई-दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिकशास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धर र नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशि एक-एक लाख रुपैयाँ रहेको छ।

त्यसैगरी प्रत्येक एक-एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ का लागि मदन रेग्मी, २०७६ का लागि भागीरथी श्रेष्ठ, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा-साहित्य), २०७६ का लागि अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य), २०७६ का लागि अशोक थारू (थारू, भाषा-साहित्य)लाई प्रदान गरिने भएको छ। सबै पुरस्कारको राशि एक एक लाख रुपैयाँ रहेको छ।

प्रज्ञा-प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। यी पुरस्कारको राशि एक-एक लाख रहने छ।

अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशीलाई तीनतीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गर्ने निर्णय भएको छ।

साथै प्राज्ञसभाको बैठकले गत आर्थिक वर्षको बजेट अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्ष २०७६/२०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारित र विनियोजित २३ करोड ७ लाख ३३ हजार बजेट रकम पारित समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु