काठमाडौं । नेपाली फिल्मको बजार धरायसी बन्दै गईरहेको अवस्थामा फिल्म कबड्डी कबड्डी कबड्डी ले सबैलाई चकित पार्ने गरि ब्यापार गरेको छ । नेपाली फिल्म चल्दैन, नेपाली फिल्म हेर्न दर्शक आउँदैनन् भनेर भनिरहँदा फिल्म कबड्डी कबड्डी कबड्डी ले ओपनिङ दिनमै ५५ लाख कमाएको हो । शुक्रवार रिलिजको दिननै ५५ लाख कमाउने फिल्म अहिलेसम्म कबड्डी कबड्डी कबड्डी मात्रै हो । यस अघि छक्का पञ्जा टिम लगायत अन्य केही फिल्महरुले ४० लाख भन्दा बढि कमाएको रेकर्ड छ ।
एकदिनमै निर्माताको हातमा पर्ने गरि ५५ लाख कमाउनु भनेको सबैभन्दा ठूलो सफलता हो । रामबाबु गुरुङ निर्देशित फिल्मले अन्य औसत फिल्मको लागत खर्च बराबरको कारोवार एकै दिनमा गरेको छ । ५५ लाख रुपैया निर्माताको हातमा पर्न, फिल्मले झण्डै १ करोड ५० लाखको कारोवार गर्नुपर्ने हुन्छ । निर्माण टिमका अनुसार फिल्मले शुक्रवार देशभरीबाट १ करोड ४७ लाख रुपैयाको कारोवार गरेको दावी गरिएको छ ।
कारोवार रकमबाट हलको आधा हिस्सा, करको १८ प्रतिशत र वितरक तथा हलको केडिएम चार्ज कटाउँदा निर्माताको हातमा झण्डै ५५ लाख पर्ने निश्चित देखिन्छ । दयाहाङ राई, कर्मा, उपसना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, रेश्मा गुरुङ लगायतको अभिनय रहेको फिल्म कबड्डी कबड्डी कबड्डी कबड्डी र कबड्डी कबड्डी कै निरन्तरता हो । गुरुङ संस्कृतिको समाजलाई फिल्ममा उतार्न माहिर निर्देशक रामबाबुले सोही कथालाई निरन्तरता दिदै फिल्म कबड्डी कबड्डी कबड्डी निर्माण गरेका हुन् । फिल्मको रिलिजको पूर्व सन्ध्यामा रेड कार्पेट प्रिमियर पनि गरेको थियो । रेड कार्पेट प्रिमियरमा फिल्मलाई औसत प्रतिक्रिया मिलेको थियो । कबड्डी सिरिजकै निरन्तरतामा बनेको कबड्डी कबड्डी कबड्डी औसत फिल्म हो ।
पछिल्लो समय सुस्ताएको नेपाली फिल्म बजारलाई कबड्डी कबड्डी कबड्डी ले चलाएमान बनाएको छ । अब निरन्तर केही आश लाग्दा नेपाली फिल्महरु रहेकोले यो बर्ष फिल्मी बजार चलाएमान हुने अनुमान छ । यस अघि फिल्म ‘जात्रै जात्रा’ ले खस्किएको फिल्मी बजारलाई चलाएमान बनाएको थियो । त्यसपछि आशा गरिएका फिल्महरु ‘हजार जुनीसम्म’, ‘जाइरा’, ‘मारुनी’ लगायतले फिल्मी व्यापारलाई चलाएमान बनाउन सकेन । यहि बीचमा संविधान दिवसको अवसर पारेर रिलिज भएको कबड्डी कबड्डी कबड्डीले ओपनिङमा नयाँ रेकर्ड बनाएको हो । मल्टिप्लेक्सहरुमा अहिलेसम्मकै सर्वाधिक शो पाएको कबड्डी कबड्डी कबड्डीले शुरुको दिनमै ९० प्रतिशत भन्दा माथि अकुपेन्सि कायम गरेको हो ।
शुक्रवार कबड्डी कबड्डी कबड्डीको ओपनिङ देखेर हलवालाहरुले शो थप्ने काम गरिरहेको छ । शनिवार कबड्डी कबड्डी कबड्डी ले निर्माताको हातमा ६५ लाख भन्दा बढि पर्ने गरि कारोवार गर्न सक्ने अनुमान रहेको छ । कबड्डी कबड्डी कबड्डी को व्यापारसँगै यसपछिका रातो टिका निधारमा, छ माया छपक्कै लगायत फिल्मले पनि राम्रो ब्यापार गर्ने निश्चित रहेको बुझ्न सकिन्छ ।
source: filmyfanda.com