अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ८ गते, बुधबार १६:५०

काठमाडौं, ०८ आश्विन । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेसनल सिरिज २०१९ काठमाडौंमा सुरु भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा प्रचण्डले अन्तर्राष्ट्रियस्तरको यस्तो कार्यक्रम आयोजना गरेर अन्नपूर्ण मिडिया नेटवर्कले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताए। पूर्वप्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा राखे । उनले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदु भन्ने नाराले नै हरेक मानिसका लागि खेलकुद कति महत्वपूर्ण छ भन्ने कुरा दर्शाउने धारणा व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पछिल्लो समय नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल सिरिजमा सुरुमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहने भनिए पनि माल्दिभ्ससँग प्रतियोगिता जुधेका कारण १२ राष्ट्रका खेलाडीले मात्र सहभागिता जनाएको बताए । उनले आगामी वर्ष २५ राष्ट्रसम्मको सहभागिता रहने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल लगायत सुरक्षा निकायका उच्च अधिकृत तथा पूर्व अधिकारीहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया,राखेपका सदस्यसचिव रमेश सिलवाललगायत विभिन्न निकायका उच्च अधिकारीहरु, खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सहभागी थिए।

इन्टरनेसनल सिरिजकै उद्घाटनका क्रममा कर्पोरेट प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा एक्जेक्टिभ सिंगल्समा कामना सेवा विकासका विशाल खड्काले उपाधि जिते ।

उनले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१(१६, २१(१४ ले पराजित गरे । एक्जेक्टिभ डबल्समा कामना सेवाका विशाल खड्का र बीएनएम सप्लायर्सका विश्वास नेपालले उपाधि जिते । उनीहरुले जेस्ट ब्याडमिन्टनका सुजन थापा र रामकुमार बानियाँको जोडीलाई १८(२१, २१(१७, २१(१९ को सेटमा हराए ।

यसैगरी कर्पोरेट सिंगल्समा नारायणी मिल्कका अभिषेक बोसले उपाधि जिते । उनले फाइनलमा स्टार इन्भेस्टमेन्टका दिनेश राईलाई २१(१३, २१(१२ ले हराए । कर्पोरेट डबल्समा राष्ट्रिय खेलकुद परिषद्का पीताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमाल पहिलो भए । उनीहरुले युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावर कम्पनीका खगेन्द्र रेग्मीलाई २१(१७, १५(२१, २१(१५ को सेटमा पराजित गरे ।

विजेता खेलाडीलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरे ।

प्रतियोगिता विश्व ब्याडमिन्टन महासंघ ९बीडब्लूएफ० को वार्षिक क्यालेन्डरमा समावेश गरिएको छ। प्रतियोगितालाई पहिलो पटक बीडब्लूएफले आफ्नो क्यालेन्डरमा समावेश गरेको हो। त्यसैले यसपटक दुई फरक विधामा प्रतियोगिता आयोजना गरिएको हो। गत सोमबार सुरु भएको ‘अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन च्याम्पियनसिप—२०१९’ भने बुधबार नै भएको छ।

कर्पोरेट विधामा विभिन्न कर्पोरेट हाउसका पदाधिकारीले चारवटा खेलमा प्रतिस्पर्धा गरेका थिए। कर्पोरेटतर्फ पुरुष एकल ४५ वर्षमुनि, पुरुष डबल्स ४५ वर्षमाथि तथा पुरुष एक्जुकेटिभ एकल र डबल्स स्पर्धा समावेश गरिएको छ।

इन्टरनेसनल सिरिजमा पुरुष एकल र डबल्स, महिला एकल र डबल्स तथा मिक्स डबल्स स्पर्धा समावेश गरिएको छ। इन्टरनेसनल सिरिजमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया, मलेसिया, इरान, चाइनिज ताइपेईलगायत विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु