सन् २०२१ का लागि अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) को आवेदन खुला गरेको छ ।
अमेरिकी विदेश मन्त्रालले अक्टोबर २ तारिख अर्थात बुधबार न्युयोर्कको समय अनुसार दिउसो १२ बजेदेखि डीभी लोटरी भर्न सकिने जनाएको छ । नेपाली समय अनुसार आज बेलुका देखि डीभी भर्न सकिनेछ ।
विदेश मन्त्रालयका अनुसार न्युयोर्क समय अनुसार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डीभी लोटरी भर्न सकिनेछ ।
यसपटक देखी डीभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डीभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ ।
डिभी भर्न मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परे पनि परिवारका अन्य सदस्यहरुको विवरणका लागि भने पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।
बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकले भने यसपटक डीभी लोटरी भर्न पाउने छैनन् ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि दश जोड दुई वा सो सरहको कोर्स पुरा गरेको वा पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।