काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निजिकिएसँगै उम्मेदवारी घोषणामा प्रतिस्प्रधा चलिरहेकाे छ । यसैक्रममा वर्तमान उपाध्यक्ष कुल आचार्यले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आज दिउँसो काठमाडौँमा आचार्यले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) छन् । महासचिवमा वर्तमान सचिव जानकी गुरुङ छन् ।
यस्तै, कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी टुंगो लागेको छ । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर, सहमतिपछि गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले जानकारी दिएका छन् । एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा पुर्याएको योगदान आफ्नो आधार भएको अध्यक्षका प्रत्यासी आचार्यले बताए । उनले अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी थरे । सो क्रममा उनले आफ्नो १० वटा प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
यस्तै उनले आफ्नो प्यानल निर्वाचित भए एनआरएनएको भवन रहेको जग्गा विवादबारे सरकारसँगको पहलमा समाधान गर्ने बताए । एनआरएनएका प्रतिनिधिबारे घुसपेठका सम्बन्धमा छनविन हुने पनि उनले बताए । एनआरएनएको नवौं विश्व सम्मेलन भोलिदेखि काठमाडौंमा हुँदैछ ।