‘काठमाडौं उपत्यकाका सडकलाई माघ अघिनै व्यवस्थित् गर्छु’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ९ गते, शनिबार १७:३७

काठमाडौं, ९ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार अहिले सही दिशामा रहेकोले अब परीणाम देखिने स्पष्ट पारेका छन् । उनले अब जनताले देखिनेगरि विकास र समृद्धिको अनुभुति गर्न पाउने पनि सुनाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘०७४/०७५ आधार वर्षको रुपमा लियौं, २०७५–०७६ योजना वर्षको रुपमा लिएर अघि बढेका हौं । यो सरकार सबै मोर्चामा प्रत्येक दिन एक कदम अगाडि बढिरहेको छ। यो सरकार गठन भएदेखि हामी एक कदम अगाडि बढिरहेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्र्द उनले विस्तारै–विस्तारै सरकारले गति लिएको विश्वास दिलाए । उनले भने,‘यो सरकार प्लानिङ गरेअनुसार पूर्वाधार र विकासको क्षेत्रमा अगाडि बढिरहेको छ । आर्थिक वृद्धिद्धर बलियो भैरहेको छ । अहिले शान्ति, सुरक्षाको स्थिति देशभरि व्यवस्थित् भएको छ ।’ उनले सरकार नेपाल भ्रमण वर्ष–२०२० को तयारीमा जुटिसकेको पनि बताए ।

त्यस्तै, सरकारले कृषिमा नयाँ–नयाँ प्रविधि भित्र्याईरहेको पनि उनले दाबी गरे । उनले भने,‘सरकारले कृषि क्षेत्रमा पनि फड्को मारेको छ। भूमि सुधारको क्षेत्रधमा पनि धेरै नयाँ–नयाँ कानून बनाएका छौं । कतिपय कानून संशोधनको अन्तिम स्थितिमा आएका छौं । नयाँ कानूनहरु संसदमा छदलफलको क्रममा रहेका छन् ।’

मन्त्री महासेठले विकास र समृद्धिको यात्रामा पनि वर्तमान सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको कुरा दोहोर्याए । उनले भने,‘मिडियामा मैले हेरेको थिएँ की सडकको क्षेत्रमा खासै प्रगति भएन भनिएको छ, तर म भन्छु धेरै प्रगति भएको छ । पूर्वाधार विकासमा सरकार लक्ष्यभन्दा अघि नै छ । एक वर्षमा एक हजार किलोमिटर सडक बनायौं । हामी बास्तवमा पूर्वाधार विकास खासगरी सडकको काममा तुलनात्मक रुपमा दिनप्रतिदिन अगाडि बढिरहेका छौं । स्वभाविक रुपमा हामीले धेरै आलोचना सुन्नु परेको छ। यो सडक यसरी दुई दिनमै बिग्रियो भनेर कुरा आउँछ । हामीले तुरुन्तै एक्शन लिन्छौं । हामीले देशभरि ८ मिटरभन्दा बढिका सडक हेरिरहेका छौं । त्यो भन्दा मुनिको सडक प्रदेश सरकार, महानगरपालिकाहरुले बनाईरहेका छन् ।’

काठमाडौं उपत्यकाको सडक भनेर कहिलेकाहीँ सामाजिक सञ्जालमा भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको फोटोहरु पनि सार्वजनिक गर्ने गरिएकोमा उनले गुनासो पोखे । यद्धपी आफूहरुले त्यसलाई पनि नकारत्मक रुपमा नलिएको स्पष्ट पारे । ‘यो देखेर हामी सतर्क हुन्छौं, प्रत्येक राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न भएका छन् । हुलाकी राजमार्ग, मदन भण्डारी मार्ग, मध्य पहाडी राजमार्ग, महेन्द्र राजमार्गलगायतका राष्ट्रिय राजमार्गहरु समयभन्दा पहिले नै सम्पन्न गर्न गैरहेका छौं । कामले गति लिएको छ । काठमाडौं उपत्यकाभित्र सडकमा धेरै समस्या छ । तर, राष्ट्रिय राजमार्गको बारेमा हामीले समयभन्दा पहिले काम सम्पन्न गर्न गैरहेका छौं । हुलाकी राजमार्ग सम्पन्न गर्न गैरहेका छौं । महेन्द्र राजमार्गको कुरा गर्दा बुटवलदेखि–काकँडाभिट्टासम्म ८ लेनको बन्दैछ । बुटवलदेखि नारायणघाटसम्म काम सुरु भैसकेको छ । मैले विभागलाई निर्देशन दिएको छु । हो, युद्धस्तरमा काम भएको छैन् । तर, काम सुरु भएको छ । कमलादेखि कन्चनपुरसम्म, पथलैयादेखि कमलासम्म, कन्चनपुरदेखि काँकडाभिटटा काम भैरहेको छ । ६ लेन त हामी समयभन्दा पहिले सम्पन्न गर्न गैसकेका छौं ।’

रेलमा पनि आफूहरुले लक्ष्यअनुसार काम गरिरहेको उनको दाबी छ । ‘पूर्व–पश्चिम रेलमार्ग निर्माणको पनि काम सन्तोषजनक छ । सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा नै हामीले काठमाडौं–केरुङ रेलमार्गमा एम.ओ.यु गरेका थियौं । त्यसमा नेपाल सरकारले के–के उपलब्ध गर्ने र चिनियाँ सरकारले के–के गर्ने भन्नेबारे प्रष्ट रुपमा लेखिएको छ । अहिले हामी चरणबद्ध रुपमा प्राविधिक काम गर्दैछौं । अब फिजिविलटी गर्छौं । यो पनि सम्पन्न हुन्छ । त्यस्तै, काठमाडौं–विरगन्ज रेलमार्गको लागि पनि त्यहीअनुसार काम भैरहेको छ । प्रि–फिजिविलटी काम हुन्छ । रेलवे निर्माण काममा पनि हामी लक्ष्यभन्दा पछाडि छैनौं ।’

उनले ७७ वटै जिल्लामा सरकारको कामको नतिजा देखिएको सुनाए । उनले थपे,‘पहिले केही काममा बाधा र अड्चन थिए । तर, अहिले त्यो चिजलाई हटाएका छौं । कानूनहरु संशोधन गरेका छौं । काम गर्नेलाई पुरस्कार दिने गरेका छौं । खराब गर्नेलाई कारबाही गरिरहेका छौं । अस्ति भर्खरै १५÷२० वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखेर कारवाही गरेका छौं । निर्माण व्यवसायी साथीहरु अहिले गम्भिर हुनुहुन्छ । धेरै यस्ता पनि साथीहरु पनि छन्, जसले समयभन्दा अगावै काम गरेर दिएका छन् । अहिले कामको प्रगति हेरेर मात्रै पैसा दिन्छौं । पहिले पहिले एडभान्स दुरुपयोग हुन्थ्यो । अहिले हामीले त्यो काम बन्द गरेका छौं । अहिले जुन प्रकारको काम भैरहेको छ। समस्या छैन् । काम नगर्नेलाई कालो सूचिमा राखेका छौं ।’

मन्त्री महासेठले सुरुङमार्गको शिल्यान्यासको बेलामा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि उभिएर काठमाडौं उपत्यकाको सडक अवस्था व्यवस्थित् गर्छु भनेर बोलेको पनि सुनाए । उनले भने,‘यो आर्थिक मसान्तभित्र काठमाडौं उपत्यकालाई व्यवस्थित् गर्छु । अब काम नगर्नेहरुको दिन गयो । मैले यो कुरा प्रधानमन्त्रीको अगाडि भनेंको छु । अब माघ पनि कुर्नुपर्दैन् । काठमाडौंलाई चाहिने व्यवस्थित् गर्छौं । म त भन्छु हामी काठमाडौं उपत्यकालाई मंसिर, पुसभित्रै सम्पन्न गर्न गैरहेका छौं । तिहार सकिएपछि तपाईहरुले परिवर्तन महशुस गर्नुहुन्छ ।’ महासेठले काम नगर्ने निर्माण व्यवसायीहरुलाई मात्रै नभएर राष्ट्रसेवक कर्मचारीहरुलाई पनि त्यहीअनुसार काम गर्न चेतावनी दिएको सुनाए ।

पछिल्लो समय धेरै छिटो काम गर्दा हुँदो रहेछ भन्ने कुरा आफूहरुले महशुस गरेको पनि उनले सुनाए । ‘अब हिजोजस्तो समस्या हुँदैन् । मैले गर्नुपर्ने म गर्छु, तपाईले गर्नुपर्ने तपाईले गर्नुुहोस भनेको छु । अब नयाँपन देखिन्छ । हो, हामीले सडकहरु नयाँ बनाएका छैनौं । तर, हिजोभन्दा आज अलिकति सफा हुन्छ । अहिले बनाएका सडकहरु अल्पकालिन हुन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुभयो । यो त देशको ईज्जतको कुरा हो, नेकपाको मात्रै होईन । तीन करोडको ईज्जत थियो । त्यहीभएर कामचलाउ सडकहरु बनायौं । अहिले खानेपानीले लाजिम्पाटमा सडक खन्दैछ । हामीले पनि सडकको लिकेज टाल्नको लागि १५ दिनको समय दिएका छौं । कतिपय ठाउँमा हामीले खानेपानकिो काम आँफैंले गरेका छौं । गौशालादेखि चावहिलसम्मको सडकको काम छ ।’

मन्त्री महासेठले अब प्लानिङअनुसुार काम गर्ने सुनाए । उनले थपे,‘आउने मंसिर १ गतेदेखि सम्भवतः त्यो भन्दा पहिलेदेखि सबै ठाउँमा म हात हाल्दैछु । म आएको १९ महिना भयो । अब म २ महिना समय मागेको छु । अहिलेपनि हामीलाई समस्या छ । तर, काठमाडौं उपत्यकाभित्रका सबै सडकहरु व्यवस्थित् गर्छु ।’

दिनहुँ पत्रपत्रिकामा विगतमाजस्तै सरकार आउने÷जाने भनेर समाचार आएकोबारे उनले त्यसमा कुनै सत्यता नभएको टिप्पणी गरे । उनले भने,‘त्यो त्रास अहिले देखिउको छ । मन्त्रिमण्डल परिवर्तन हुने भनेर कुराहरु दिनहुँ मिडियामा आईरहेका छन्, पछिल्लो १३/१४ महिनादेखि पत्रिकाले लेख्न छोडेको छैन् । हुन त यो अधिकार प्रधानमन्त्रस्को अधिकारक्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ । तर, अहिले सम्भावना देखेको छैन् । सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको छ । मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गरेको हो । नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि छैनन् नि । उनीहरुको उद्देश्य सरकार छिटो ढलोस भन्ने होला । तर, त्यो सम्भावना छैन् । आजको भोलि नै मन्त्रिमण्डल परिवर्तन हुने सम्भावना मैले चाहीँ देखेको छैन् ।’

मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने स्पष्ट पारे । त्यस्तै, उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भयो र आर्थिक चलेखले भयो भन्ने आरोप लागेको बारेमा पनि खण्डन गरे । उनले भने,‘जब सरुवा नै भएको छैन्, यस्तो कुरा कसरी आएको होला ? एउटा पनि सरुवा भएको छैन् । तर, यसबारेमा दिनहुँ पत्रिकामा कुरा आउँछ । हाम्रै पार्टीका साथीभाईबाट सञ्चालित मिडिया हाउसबाट यस्तो लेखिने गरेको छ। मिडिया भनेको राज्यको चौथो अंग हो । तर, समाचार लेख्दा पनि कम्तिमा पनि ५० प्रतिशत सही कुरा लेख्नुहोस् । शतप्रतिशत गलत कुरा लेख्नुभएन । यो त मिडियाकै लागि प्रतिकुल हुन्छ । हामीले केही गरेकै छैन् ।’ यद्धपी उनले पत्रपत्रिकामा आएका समाचार देखेर आफूलाई त खुशी लाग्ने प्रतिक्रिया दिए । ‘म त पत्रिका पढेर कतिपय कुरामा एक्शन लिन्छु । दश वटा लेख्दा एक/दुई वटा सही हुन्छ । म सही कुरामा एक्शन लिन्छु । मिडियाको कमी छैन् । ७७ वटै जिल्लामा मिडिया सक्रिय छन् । सरकारले गति लिन्छ । तपाईहरुले अनुभुति गर्नुहुन्छ ।’

त्यस्तै, उनले काठमाडौंको कालिमाटीको पुलका कारण ठूलो जाम हुने गरेको सुनाए । महासेठले थपे,‘कोटेश्वरमा बढि जाम छ । चावहिलमा छ । गौशालामा छ । हामी काठमाडौंलाई व्यवस्थित् गर्न गैरहेका छौं । ७ वटा ठाउँलाई पहिलो प्रिफेरेन्समा राखेका छौं । सैद्धान्तिक सहमतिकोलागि सम्बन्धित निकायमा पठाएका छौं । कोटेश्वर, गौशला, चावहिल, नयाँ बानेश्वर, थापाथली, त्रिुपरेश्वर र कालिमाटीको कुरा छ । आधुनिक ओभरहेड ब्रिड, अन्डर पास र टनेल बनाउनेबारे डिजाईन गरिसकेका छौं ।’

सुरुङमार्गमा त ४२ महिनाको समय दिएपनि, ३६ महिनामा सम्पन्न गर्न भनेर आफूहरुले भनिसकेको सुनाउँदै उनले भने,‘सम्झौतअनुसार निर्माण व्यवसायीले काम गर्नुपर्छ । पुल भाँचिएर वा भासिएर दुर्घटना भयो भने हामी नै जिम्मेवार हुनुपर्छ । कालीमाटीको हकमा निर्माण व्यवसायीले रातोरात विभागलाई थाहा नदिई काम गरेको रैछ । मैले तोड्न निर्देशन दिएको हुँ । जबरजस्ती बनाएकोले समस्या भएको हो । हामी कानूनी राज्यमा छौं । अदालतबाट टेस्टको आदेश भएको छ । निर्माण कम्पनीले पनि टेस्टको माग गरेको छ । त्यही भएर समय लागेको छ । म भन्छु यो पुल कमजोर छ । अलिकति ढिलाई भएकै हो । अब एकदेखि डेढ महिनाभित्र नयाँ बन्छ । तिनकुनेनिरको बाग्मती पुलमा पनि समस्या छ । हामीले दिएको रि–डिजाईनअनुसार काम गर्न भनेका छौं । तिनकुनेको पनि हामीले नयाँ डिजाईन बनाईसकेका छौं ।

कलंकी–नागढुगा र जोरपाटी–साँखु सडकपनि आगामी मंसिर १५ भित्र व्यवस्थित् गर्नको लागि आफूबाट निर्देशन भैसकेको उनले सुनाए । उनले भने,‘हामीले तुरुन्त पिच गर्न निर्देशन दिएका छौं । गम्भिर छौं । आशा राखौं मंसिरभित्रै काम सम्पन्न भैसक्छ ।’ जोरपाटी–साँखु सडक देशकै सडक भएकोले यसबारेमा सरकार गम्भिर रहेको पनि उनको प्रतिक्रिया छ । उनले भने,‘हामी मेयरलाई पनि सरकारकै मेयर मान्छौं । सांसद र मेयर (उहाँहरु) को लडाईमा हामी पर्न चाहँदैनौं । १४ मिटर दिन तयार तयार छन् । हाम्रो २२ मिटरको डिजाईन हो । २२ मिटर बनाउँदा चार लेन बन्छ । यसो हुँदा ५०-६० वर्षको लागि पुग्छ । सडक विस्तारको क्रममा हुने क्षतिपूर्ति दिनैपर्छ । हामी दिन्छौं । अदालतको निर्णय हो । हामी कमभन्दा कम क्षति चाहन्छौं ।’

महासेठले यही आर्थिक वर्षभित्र डोल्पा र हुम्लापनि सडक सञ्जालले जोड्ने सुनाए । उनले भने,‘हामी यो काम यही वर्ष गर्छौं । अहिले विकास चाहिन्छ भने सडक बनाईदिनुहोस भन्ने उक्ति लागु भएको छ । हामी फर्निचरसहितको सडक बनाउँदैछौं । काठमाडौंमात्रै होईन, देशैभरि सडक निर्माणमा अघि बढ्छौं । देशमा ७ वटा सुरुङमार्गको लागि डिपिआरको लागि बजेट छुट्याईसकिएको छ । हामी पूर्वाधारको प्रत्येक सेक्टरमा हात हाल्छौं । काठमामाडौं देशको मुहार हो । त्यसैले काठमाडौं उपत्यका राम्रो हुनुपर्छ । यी सबै कुरा सोचेका छौं । विकास र समृद्धि नेपाल सरकारले मात्रै गर्ने होईन, सबैको साथ चाहिन्छ । तपाईहरुबाट धेरै सहयोग पाएको छु । हामीलाई सही दिशातर्फ अघि बढ्नको लागि यहाँहरुको साथ र सहयोग चाहिन्छ । मिडियाबाट हुने आलोचनालाई सकारात्मक रुपमा लिएका छौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु