• शकिबलाई दुई वर्ष प्रतिबन्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १९:०७

    काठमाडौं–बङ्गलादेशका टेस्ट टोलीका कप्तान शकिब अल हसनलाई दुई वर्ष प्रतिबन्धको सजाय दिइएको छ । भ्रष्टाचारका लागि गरिएको प्रस्ताव रिपोर्ट नगरेको भन्दै उनलाई सो सजाय सुनाइएको हो । ३२ वर्षीय खेलाडीले ‘बेटिङका लागि भित्री सूचना’ मागबारे तीनवटा आरोपहरु स्वीकार गरेका छन् । सन् २०१८ को जनवरीमा श्रीलंका र जिम्बाव्वेबिरुद्धको त्रिदेशीय प्रतियोगिताका दौरानमा उनलाई अफर आएको थियो ।

    शकिब अलराउण्डरहरुको एकदिवसीय खेलको वरियतामा शीर्ष स्थानमा रहेका छन् । उनले बङ्गलादेशका लागि ३३८ खेल खेलेका छन् । सन् २०१९ को क्रिकेट विश्वकपमा तेस्रो धेरै रन बनाएका थिए । जसक्रममा उनले २ शतक पनि हिर्काएका थिए । शकिबको एक वर्षको प्रतिबन्धलाई निलम्बन गरिएको छ । उनले सन् २०२० को २९ अक्टोबरपछि मैदानमा फर्कन पाउनेछन् । ‘मलाई आशा छ म चाँडै क्रिकेटमा फर्कने छु । म अझ सशक्त बन्नेछु र आफ्नो जिम्मेवारीलाई थप लगनका साथ पूरा गर्नेछु,’ उनले प्रतिबन्धको घोषणापछि भने ।

    शकिबले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको भ्रष्टाचारबिरोधी युनिटलाई अफर आए पनि कुनै कारवाही नगरेको, कुनै सूचना नदिएको र कुनै रकम प्राप्त नगरेको बताए थिए । यद्यपि, त्यस्तो अफरबारे जानकारी नदिएको भन्दै शकिबलाई कारवाही गरिएको छ । अब उनको स्थानमा मोनिमुल हकले टेस्ट टोलीको कप्तानी सम्हानेछन् भने टी–२० को कप्तानी मोहमदुल्लाले निभाउनेछन् । यता, प्रधानमन्त्री शेख हसिनाले शकिबप्रति समर्थन जनाउँदै उनले गल्ती गरेको तर, साथै आफूले महसुस पनि गरेको प्रतिक्रिया दिएकी छिन् ।

    साैजन्यः जनसवाल दैनिक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु