काठमाडौ ।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा “गाउँपालिका महोत्सव” हुने भएको छ । यहि मंसिर ५ गतेदेखि ८ गतेसम्म गाउँपालिकाले “गाउँपालिका महोत्सव तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता” आयोजना गरेको हो ।
सन् २०२० को पर्यटन बर्षलाई समेत सहयोग पुर्याउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइयो ।
महोत्सवको अवसरमा अध्यक्ष रनिङ शिल्डका साथमा महिला पुरुष हाफ म्याराथुन, नृत्य, एकल ट्रयाक गायनसमेत आयोजना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
महोत्सवको अवसरमा बृहत् कृषि प्रदर्शनी र स्थानीय खाना प्रदर्शनीसमेत हुनेछ ।
महोत्सवका लागि गायक शम्भु राई, गायिका मेलिना राई, हाँस्य कलाकार फुलन्देकी आमा लगायत्का कलाकारहरु मुक्ली आउनेछन् ।
अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । सान्त्वना स्थान प्राप्त गर्ने टिमले २० हजार नगद प्राप्त गर्नेछन् ।
यस्तै महिला पुरुष हाफ म्याराथुनका बिजेताले १० हजार, ७ हजार र ५ हजार नगदका साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक रामसंघर्ष किरातीले जानकारी दिए ।
उनका अनुसार एकल नृत्यका बिजेताहरुले ५ हजार, ३ हजार र २ हजार तथा समूह नृत्यका बिजेताहरुले क्रमशः १६ हजार, १२ हजार र ८ हजारका साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । ट्रयाक गायन प्रतियोगिताका बिजेताहरुलाई भने क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत, नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा लगायत् उपस्थित थिए ।