नेपालगन्ज, २०, कात्तिक २०७६ ।
गेट कलेजको भगिनी संस्था गेट भोकेसनलले विगत एक दशभन्दा लामो अवधिदेखि नेपालमा विभिन्न किसिमका व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको छ । अधिक नवीनतायुक्त तालिम कार्यक्रम (मोस्ट इनोभेटिभ ट्रेनिङ प्रोगाम) विधामा विश्वकै प्रतिष्ठित वल्र्ड हस्पिटालिटी अवार्ड पाइसकेको गेट भोकेसनलअन्तर्गत हालसम्म ३ हजारभन्दा बढीले विभिन्न आवधिक तालिम लिइसकेका छन् ।
होटल व्यवस्थापनको व्यावसायिक तालिमका क्षेत्रमा थप नवीनता सिर्जना गर्दै गेट भोकेसनलले पाँचतारे होटल सोल्टीसँग सहकार्य गरेको छ । सोल्टी वेस्टइन्ड प्रिमियरसँगको सहकार्यमा विगत दुई वर्षदेखि गेट भोकेसनले सञ्चालन गर्दै आएको आवधिक प्रशिक्षणको मंगलबार दीक्षान्त कार्यक्रम आयोजना गरियो ।
विगत दुई वर्षको अवधिमा नेपालगन्जमा सञ्चालित आवधिक तालिमहरूमा सहभागी १११ जना विद्यार्थी सो अवसरमा दीक्षित भएका थिए । नेपालमा पाँचतारे होटलमै ‘अन द जब ट्रेनिङ’ सुविधासहितको होटल व्यवस्थापनसम्बन्धी आवधिक तालिम दिइएको यो पहिलो पटक हो ।
गेट भोकेसनलका संस्थापक महाप्रबन्धक विवेक पौडलले नेपालमै यस प्रकारको साझेदारी पहिलो भएको बताउनु हुँदै यस्तो साझेदारीमा जनशक्ति उत्पादनको मोडललाई अन्य होटलहरूले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यस्तो सफल प्रयोगलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजनासहित पोखरामा समेत तालिम कार्यक्रमहरू आरम्भ भइसकेको बताउनु भयो ।
भेरी प्राविधिक शिक्षालयका सहायक प्रमुख पारश खड्काले व्यावसायिक शिक्षाले सीपमूलक जनशक्ति विकासमा योगदान दिने भएकाले यसलाई बढीभन्दा बढी उपयोगमा ल्याउने वातावरण बनाउनु पर्ने बताउनु भयो ।
यस्तै, सोल्टी होटलका मानव संशाधन विभागका प्रमुख वृजेशकुमार गुप्ताले पाँचतारे होटल पनि शिक्षण–प्रशिक्षणका लागि उपयुक्त थलो हुनसक्छ भन्ने कुरा सोल्टी वेस्टइन्ड प्रिमियरमा गेट भोकेसनलको सहकार्यमा सञ्चालित तालिम कार्यक्रमहरूले पुष्टि गरेको बताउने भयो ।
कार्यक्रममा गेट कलेजका तर्फबाट ताराजंग थापा र सोल्टी वेस्टइन्ड प्रिमियरका तर्फबाट खम्बजंग शाहले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गर्नुभयो ।