शौचालयबारे निर्धक्क कुरा, स्वास्थ्य र सफाईका लक्ष्य हुन्छन् पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १७:०३

काठमाडौं, १ मंसिर । हरेक व्यक्तिले गासका लागि दैनिक घण्टौ काम गर्दछ तर खाएको कुरा उत्सर्जन भएपछि त्यसको दिगो व्यवस्थापनका लागि भने धेरै ध्यान दिएको पाइदैन् । हरेक व्यक्तिले कम ध्यान दिएको मानवीय मलमूल व्यवस्थापन अहिले विश्वमा स्वास्थ्य र सरसफाईको क्षेत्रमा ठूलो चुनौतिको रुपमा आएको छ ।

आजसम्म पनि ओझेलमा परेको मानव मलमूत्रको व्यवस्थापनका बारेमा खुलेर कुरा गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत ईन्जिनियरहरु मुखर भएर आएका छन्, चर्पीको कुरा लिएर । खानेपानी,स्वास्थ्य र सफाईको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था स्मार्ट वासको आयोजनामा आइतबार राजधानीमा विश्व चर्पी दिवस २०१९ का अवसरमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।

शौचालयको निर्माण, उपयोग र शौचालयमा संकलित मलमूत्रको दिगो व्यवस्थापनमा केन्द्रित उक्त कार्यक्रममा आफ्नो मन्तव्य दिंदै पूर्व सचिव सुमन शर्माले भन्नुभयो, खाने र बस्ने होटल र रेष्टुरााहरुको उद्घाटन गर्दा सबै गर्व गर्दछन् तर त्यही खाएको कुरा उत्सर्जन गर्ने शौचालयको निर्माण, त्यसको सुव्यवस्थापनका लागि ढल र ढलप्रशोधन केन्द्रहरुको उद्घाट्न गर्दा सञ्चार माध्यमले समेत नकारात्मक टिप्पणी गर्दछन् । जबकी सफा शौचालय हरेक व्यक्तिको आधारभूत आवश्यकता हो र यसको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यका साथै व्यक्तिको इज्जत र प्रतिष्ठासंग जोडिएको छ । तपाई सबैले देख्ने गरी खान सक्नुहुन्छ तर दिसा र पिशाब गर्न सक्नुहुन्न । सञ्चारकर्मीहरुले पनि आफ्नो दृष्टिकोण व्यापक बनाउन जरुरी छ ।

कार्यक्रममा पूर्व मन्त्री गणेश साहले नेपाल करिब एक दशकको अथक प्रयासपछि गत असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र भएकोमा गर्व गर्र्दै भन्दै भन्नुभयो, अहिले घरघरमा शौचालय बनेको छ तर पूर्र्ण सरसफाईको स्तरमा पुग्न बाँकी छ । अझैपनि सार्वजनिक शौचालयहरु अपर्याप्त छन्, गुणस्तर राम्रो छैन, दिगो व्यवस्थापनका समस्या छन् र सबैभन्दा ठूलो कुरा त शौचालयमा जम्मा भएका मानव मलमूत्रको प्रशोधन र दिगो व्यवस्थापन समस्याको रुपमा रहेको छ । प्रचलित प्रविधि छ तर महंगो छ । त्यसलाई हाम्रो देशको भौगोलिक आर्थिक हिसाबले उपयुक्त प्रविधि विकास गरी दिगो व्यवस्थापन गर्नुपर्ने खाँचो छ ।
उहाँले माहात्मा गान्धीले सरसफाईका सम्बन्धमा दिएको एक कथनको उल्लेख गर्दै भन्नुभयो, ‘भारतीय स्वतन्त्रता संग्राममा लाग्दा खेरी नै गान्धीले स्वतन्त्रता महत्वपूर्ण कुरा हो तर सरसफाईको विषय त्योभन्दा पनि महत्वपूर्ण विषयबताउनुभएको थियोे । ‘उहाँले गान्धीको पालादेखि स्वच्छताको कुराका गरिएको भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियान सञ्चालन गरेर यसको महत्वलाई उजागर गर्नुभएको बताउनुभयो ।

उहाँले विश्वका सबैभन्दा धनी बिल गेट्ससमेत स्वास्थ्य र सफाई अभियानमा जोडिनुभएको बताउदै भन्नुभयो अब चर्पीको कुरा गर्दा नाक नखुम्च्याऔं, यसका बारेमा खुलेर कुरा गरौं ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले चर्पीको कुरा जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धित भएकोले नेपालमा खुला दिशामुक्त अभियान तीव्र गतिमा चलाईएको बताउनुभयो ।

उहाँले घरघरमा चर्पी बनाउने अभियान पूरा भएको बताउदै अब सार्वजनिक क्षेत्रमा शौचालय निर्माणमा संघीय र प्रादेशिक तथा स्थानीय सरकारको पनि ध्यान केन्द्रीत भएको बताउनुभयो ।उहाँले चर्पीको सरसफाई,गुणस्तर,चर्पीमा जम्मा भएको मलमूत्रको व्यवस्थापन चुनौतिको रुपमा आएको बताउनुभयो । महानिर्देशक दासले सरकारले पूर्ण सरसफाईको लागि निर्देशिका र सूचकहरु तयार पारेकोले त्यसको परिपालना गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । शहरी ढलको दिगो व्यवस्थापनको लागि झापाको चारआली र काँकडभित्तामा विलगेट्स फाउण्डेशनको सहयोगमा प्रशोधन केन्द्र बनेको बताउदै देशमा रहेका नगरपालिका र गाँउपालिकाहरुमा यस्ता प्रशोधन केन्द्र बनाउने र दिगो रुपमा सञ्चालन गर्ने कार्य चुनौतिको रुपमा आएको बताउनुभयो ।

कार्यक्रममा स्मार्ट वासका अध्यक्ष ईञ्जिनियर रामदीप साहले खानेपानी, सरसफाई र स्वच्छ वातावरणको लागि काम गर्नका लागि स्मार्ट वास सोलुसनको स्थापना गरिएको बताउनुभयो । उहाँले सरसफाईको विषय र सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन पर्यटनका लागि पनि महत्वपूर्ण भएकोले नेपाल पर्यटन बर्ष सन २०२० मा पर्यटन क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालयको निर्माण र दिगो व्यवस्थापनका सम्बन्धमा काम गर्न नेपाल पर्यटन बोर्डसंग सहकार्य गरिएको पनि बताउनुभयो ।

कार्यक्रमको दोस्रो शत्रमा स्मार्ट वासका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले नेपालमा मानव मलमूत्र व्यवस्थापनका मुद्दा र चुनौतीहरु, ग्रीन विल्डिड. टेक्नोलोजीकी रिमा लामिछानेले एनारोविक सिवेज ट्रिटमेण्ट प्लान्ट र घरायसी तथा सार्वजनिक क्षेत्रमा यसको प्रयोगका बारेमा, नेपाल वाटर कन्जरभेसन फाउण्डेशनका डा. चिरञ्जीवी भट्टराईले सार्वजनिक शौचालयको उपयोग र व्यवस्थापनका कानूनी प्रावधान र कार्यान्वयनका पक्ष तथा गुथी नामक संस्थाका तर्फबाट उपत्यकाका सार्वजनिक शौचालयको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

विश्वमा सन २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालेको हो ।

यस बर्षको विश्व शौचालय दिवसको नारा ‘कसैलाई पछाडि नछोडौं(Leaving No One Behind)’ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु