• आज मन्त्रिपरिषद पुर्नगठन हुने सम्भावना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ११:०८

    काठमाडौं – लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद पुर्नगठनले आज मूर्तरुप पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुर्नगठन हुने जानकारी गराएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनगठन गर्न लागेको बताएको उनले दाबी गरे । ओलीले को–को मन्त्री हट्दैछन र थपिदैछन् भन्ने बारे भने कुनै जानकारी नगराएपनि नयाँ मन्त्रीहरूको शपथ बुधबार नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।
    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक समेत बोलाएका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुर्नगठनबारे छलफल गरिसकेका छन् । दुवै अध्यक्षबिच भएको छलफलमा सहमत हुन नसकेको रिपोर्ट बाहिर आएपनि अन्ततः बुधबार मन्त्रिपरिषद पुर्नगठन हुने भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् । मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए । तर कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भएको छैन ।
    अहिले नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, वसन्त नेम्वाङलगायत नेताहरु चर्चामा छन् । त्यस्तै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई समेत मन्त्री बनाउने चर्चा रहेको छ । त्यस्तै लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरूङ, महेश बस्नेत, पदम गिरी, प्रेम आले र यज्ञराज सुनुवारको समेत चर्चा रहेको छ । यसै बीच कुन कुन मन्त्री बाहिरिन्छन् भन्नेमा अझै अन्योल नै रहेको छ । कार्यसम्पादन कमजोर हुने बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषि पशुपंक्षीमन्त्री चक्रपाणि खनाल बलदेव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डित, खानेपानीमन्त्री बिना मगरलगायत छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु