काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गरेका छन् । बुधबार दिनभरको छलफल र रस्साकस्सी पछि ओलीले नियुक्त हुने मन्त्रीहरूको टुंगो लगाएका हुन् । बुधबार साँझ टुंगो लागेका नयाँ मन्त्रीहरूको शपथ बिहीबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रम ओलीले मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेका छन् ।
यसअघि प्रधानमन्त्रीले बुधबार नै मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी गरेको जानकारी सचिवालयका नेताहरूलाई गराएका थिए । तर सचिवालयको बैठक लम्बिएकाले र व्यस्त सेड्युलका कारण शपथ बिहीबार बिहानका लागि सारिएको सचिवालयको दाबी छ । राष्ट्रपतिको कार्यालयले बुधवार राति जारी गरेको सूचना अनुसार ओलीले थप गरेका मन्त्रीहरूमा हृदयस त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् । त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।
त्यसैगरी ओलीले तीनजना नयाँ राज्यमन्त्री पनि बनाएका छन् । राज्यमन्त्रीहरूमा मोतीलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धरले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । ओलीले उपप्रधान र स्वास्थ तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री र कानुन, न्याय तथा संसदीय मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।