काठमाडौं –चीनले रसुवागढी–काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले सो रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो ।
सो रेल सेवाको विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पुर्याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणमा यसबारे सहमति र सम्झौता भइसकेको छ । त्यसलाई नै कार्यान्वयन गर्नको लागि यो पाँचौं बैठक बसेको हो’ भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले भने, ‘विस्तृत फिजिविलिटी अध्ययन गर्ने र एकअर्काको दायित्व के–के हुन् भन्ने कुरामा सहमति गर्यौं ।’ चीनले एरियल म्यापिङ र भौगर्भिक अध्ययन गर्ने र नेपालले सुरक्षा प्रदान गर्नेलगायत अन्य प्रतिवद्धतामा हस्ताक्षर गरेको कार्कीले बताए ।
उनले अब कार्यतालिका निर्माण भएर काम अघि बढ्नेसमेत बताए । ‘फिजिविलिटी अध्ययन भने पनि यो विस्तृत फिजिविलिटी अध्ययन हो। यसमा फिल्डको सम्पूर्ण कामहरू सकिन्छन् । अनुसन्धानको कामहरू अहिले नै गरिन्छ,’ उनले भने । चीनले अव रेल वे निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्कालअघि बढाउने पनि सचिव कार्कीले बताए । बैठकमा भएको सहमतिअनुसार चिनियाँ प्राविधिक टोली छिट्टै रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आउनेछ ।
लामो समयदेखि रेलमार्गको विषयमा विभिन्न चरणमा दुई देशबीच औपचारिक र अनौपचारिक छलफल हुँदै आएको भए पनि यो परियोजनालाई व्यवहारमा अनुवाद गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका बेला सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको छ । चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपाल पक्षधर राष्ट्र भइसकेको छ ।
चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाण्डौ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गएको अघिल्लो वर्ष मङ्सिर २४ गते नेपाल सरकारसमक्ष प्रस्तुत गरिसकेको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच पटकपटक छलफल भएको छ । आपसी छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुग्ने सिलसिलमा मङ्गलबार छलफल भएकोे हो । केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुन्छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने र निर्माण सम्पन्न हुने ९ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि लगानीको मोडालिटी भने टुंगिएको छैन ।
चिनियाँ टोलीले काठमाडौ –पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ । केरुङ–काठमाण्डौ रेलमार्गको दूरी करिब ८० किलोमिटर हुनेछ । यो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने र करिब तीन खर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाण्डौ–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गरेको चीनको औपचारिक भ्रमणका क्रममा यो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो ।समचार जनसवाल डट कम मा छ।