• दशरथ रङ्गशालामा १३ औँ सागको भव्य उद्घाटन (फोटोफिचर)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार २२:४७

    काठमाडौँ, १५ मङ्सिर / काठमाडौँ, पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औँ साग उद्घाटन समारोहलाई नेपालले नेपाल भ्रमण गर्न आह्वान गर्ने मञ्चका रुपमा राम्रैसँग उपयोग गरेको छ ।

    नेपाल भ्रमण वर्ष २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूर्ति गर्न दशरथ रङ्गशालामा आयोजित क्षेत्रीय खेलकूद प्रतियोगिता सागको उद्घाटन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्९राखेप०का सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कूटनीतिक अधिकारी र विदेशी खेलाडीका उपस्थितिमा नेपाल भ्रमणका लागि सबैलाई आह्वान गर्नुभयो ।

    उपप्रधानमन्त्री पोखरेलले नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य रसपान गरी आफ्ना मित्र र परिवारलाई नेपाल भ्रमण गराउन खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले खेलकूदले सद्भाव र मित्रता बढाउने बताउँदै भन्नुभयो, “यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।”

    खेलकूदमन्त्री विश्वकर्माले नेपाल हवाई, हिउँ, जल आदिका कारणले खेलकूद केन्द्र बन्न सक्ने बताउँदै सागले पर्यटन विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    राखेपका सदस्य सचिव सिलवालले नेपाल भ्रमण वर्षमा आउनुभएका खेलाडी र अन्य पदाधिकारीलाई नेपालको सौन्दर्य अवलोकन गरी फर्कन आह्वान गर्नुभयो । उहाँले शान्ति, समृद्धि र मित्रता सागको आदर्श भएको पनि उल्लेख गर्नुभयो ।
    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद श्रेष्ठले मिनी ओलम्पिक साग दक्षिण एशियाकै गर्व भएको बताउनुभयो । सगरमाथा र गौतम बुद्धको देश नेपालमा भ्रमण गराउन खेलाडीका आफन्तहरुलाई उहाँले आग्रह गर्नुभयो ।

    यसरी सरकारले भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागको तयारी गरेको छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेशभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्माको भनाइ छ । काठमाडाँै, पोखरा र जनकपुरका २९ स्थानमा यही मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने तेह्रौँ सागमा नेपालका ५८४ सहित अफगानिस्तानबाहेक सार्कका सात राष्ट्रबाट करीब तीन हजार खेलाडीको सहभागिता छ ।

    खड्का र थापाबाट शपथ
    काठमाडौँ, पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिनुभएको छ ।

    खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नुभएको थियो । समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आज दशरथ रङ्गशालामा ल्याइएको थियो । रङ्गशालामा भने ओलम्पिन तथा सागमा लगातार चार स्वर्णपदक विजेता दीपक विष्टले ज्योति प्रज्वलन गर्नुभएको थियो । कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी र साथीहरुले गाउनुभएको थियो ।

    त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो ।
    त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो । लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु