धार्चे गाउँपालिकाद्धारा पत्रकार भीमलाल श्रेष्ठ पर्यटन सद्भावना दूत र एजिला गुरुङ बालबिबाह न्यूनिकरण दूत नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १७ गते, मंगलवार ०९:२६

गोरखा / धार्चे गाउँपालिकाले गोरखाका पत्रकार भीमलाल श्रेष्ठलाई पर्यटन सद्भावना दूत घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न कार्यपालिका बैठकले पत्रकार श्रेष्ठलाई सद्भावना दूत घोषणा गर्ने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

साथै सोही बैठकले मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङलाई धार्चे गाउँपालिकामा बालबिबाह न्यूनिकरण दूत घोषणाको निर्णय गरेको छ । एलिजा धार्चे गाउँपालिका २ केरौंजा निबासी हुन् ।

श्रेष्ठले लाप्राक लगायत धार्चे गाउँपालिकामा प्रचलित मकै बिबाहको परम्परालाई वृत्तचित्र मार्फत देश विदेशमा चिनाउने काम गरेको र सोही चिनारीका कारण पर्यटक आकर्षित भएको गाउँपालिकाले ठहर गरेको छ । त्यसैले श्रेष्ठलाई पर्यटन सद्भावना दूत घोषणा गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

पत्रकार श्रेष्ठ र मिस आदिवासी जनजाति गुरुङलाई उपयुक्त अवसर जुराएर औपचारिक रुपमा घोषणा गर्ने र सम्मान गरिने अध्यक्ष गुरुङले बताए ।

श्रेष्ठलाई नगद रु ३० हजारसहित सम्मान गर्ने निर्णय भएको छ । गुरुङलाई पनि बिभिन्न सभा, समारोह तथा बालबिबाह न्यूनिकरण तथा महिला बेचबिखन न्यूनिकरण अभियान सञ्चालन गर्न अग्रसर गराइने अध्यक्ष गुरुङले बताए ।

सोमबारको कार्यपालिका बैठकले धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा अल्टूाम्याराथुन दौड आयोजना गर्ने निर्णय गरेको छ । पर्यटन विकासका लागि अङ्ग्रेजी महिनाको मे नौ मा लार्केदेखि लाप्राकसम्मको अल्टूाम्याराथुन दौड आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।

साथै बारपाक र लाप्राकको सीमानामा पर्ने मम्चेडाँडादेखि माछाखोलासम्म साइकल दौड प्रतियोगिता गर्ने पनि निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिए ।-दरौंदी डटकमबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु