फ्रान्सेली संस्थाद्धारा हिमालय माविलाई ल्यापटप तथा खेलकुद सामाग्री प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १५:०७

काठमाडौं, २१ मंसिर । हिमालयन म्याजिक ट्रेक्सको पहलमा फ्रान्सेली संस्था ‘ले आमी दू नेपाल खास्ताप’ले सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ खास्तापमा अवस्थित हिमालय माविलाई ल्यापटप, शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष एरिक नेन्टेट र हिमालयन म्याजिक ट्रेक्सका प्रबन्ध निर्देशक नविन कार्कीले विद्यालयका आइसीटी संयोजक सुर्यबहादुर बस्नेतलाई ल्यापटप तथा ६ लाख बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो । संस्थाका अध्यक्ष फ्रान्सेली नागरिक एरिक खास्ताप कै ज्वाईसमेत हुनुहुन्छ ।

संस्थाले विद्यालयको आवश्कतालाई ध्यानमा राखेर ४ वटा ल्यापटपसँगै भलिबल, टेबुलटेनिस, फुटबललगायतका सामाग्री प्रदान गरेको हो । जसको लागि संस्थाका अध्यक्ष ऐरिकसँगै पुष्पा राई नेन्टेट, महिउ क्रिस्टोफे दोमिनिक, इल्दुसलगायतले आर्थिक सहयोग गर्नुभएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष एरिकले २०७२ सालको भुकम्पले नेपालको दुर्गम क्षेत्रको विद्यालयहरुमा उत्पन्न समस्याहरुमा केही सहयोग गर्ने उद्देश्यका साथ संस्थामार्फत सहयोग संकलन गरेको र त्यसैमार्फत यो सहयोग गरेको बताउनुभयो । यसरी सहयोग गर्न पाउँदा आफुलाई ज्यादै खुशी महशुस भएको बताउँदै उहाँले सहयोग अभियानमा साथ दिने सबै साथीहरुप्रति आभारसमेत प्रकट गर्नुभयो । आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँको थियो ।

हिमालयन म्याजिक ट्रेक्ससले गाउँमा पुग्दा देखिएको समस्या र विद्यालयको मागअनुसार शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको भन्दै यसले त्यस क्षेत्रको शैक्षिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहयोग गर्ने संस्था र आफ्नो गाँस काटेर सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो । आगामी दिनमा पनि थप सहयोगका लागि आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

सामाग्री गहण गरेपछि विद्यालयका आइसीटी संयोजक बस्नेतले सहयोगी संस्था र पहल गर्ने हिमालयन म्याजिक ट्रेक्सप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताउनुभयो । अहिलेसम्म विद्यालयमा आवश्उकताअनुरुप ल्यापटप नहुँदा कम्प्यूटर विषयमा प्रयोगात्मक अध्यापन गराउन नसकिरहेको बेला प्राप्त भएको संस्थाको यो सहयोगले समस्या समाधान हुनुका साथै प्रविधिमैत्री शिक्षाका लागि हौसला मिलेको बताउनुभयो ।

संस्थाले यसअघि पनि हिमालय माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो भने दाम्कुमा अवस्थित विद्यालयलाईसमेत सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु