गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा सामाजिक अभियन्ता जगत गुरुङ्ग सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार १६:५३

काठमाण्डौं, २९ मंसिर- गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा शनिबार राजधानीमा आयोजना गरिएको बिशेष कार्यक्रममा सामाजिक अभियन्ता जगत गुरुङ्ग सम्मानित भएका छन् ।फाउण्डेसनले सामाजिक अभियन्ता जगत गुरूङ सहित पत्रकार रबिन प्रसाद थपलिया, मोहन लम्साल र बलराम न्यौपाने,अनन्तराम केसी,दक्षिण एसियाली खेल सागमा नुवाकोट जिल्लाबाट पदक बिजेता खेलाडी, प्रशिक्षक तथा समाजमा बिभिन्न योग्दान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो। कराँतेमा स्वर्ण पदक बिजेता अनु अधिकारी, साइक्लिीङमा स्वर्ण पदक बिजेता लक्ष्मी मगर, तेक्वान्दोमा रजत पदक बिजेता कृष्ण बहादुर तामाङ, उसुमा रजत बिजेता मिना लामा, भारातोलनमा रजत पदक बिजेता अस्मीता राई, जुडोमा रजत पदक बिजेता संजित डंगोल, तेक्वान्दोमा कास्य पदक बिजेता रेजीना रिमाल, कराँतेमा कास्य बिजेता रोजिन पुडासैनी, प्रशिक्षक संगिना बैध र खेलाडी दिनेश महतलाई सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष रमेश कुमार पाठकले दुई लाख एक हजार राशिको गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीतामा विशेष योगदान दिने दुईजना पत्रकारहरुलाई बार्षिक जनही १०÷१० हजार राशिको गिरिजाप्रसाद कोइराला पत्रकारीता पुरस्कारको घोषणा गर्नुभयो । कार्यक्रममा दुवै मृगौला फेल भएकी नुवाकोटको सुर्यगढी गाँउपालीका ४ की राधिका ओझालाई विभिन्न व्यक्तिहरुद्धारा प्राप्त झण्डै १ लाख ४२ हजार रुपयाँ बराबरको आर्थिक सहयोग समेत प्रदान गरियो ।

कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। राशरण महतले स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको विकास र आर्थीक उन्नतीको सुरुवातमा गरेको योग्दान अतुलनीय रहेको बताँउदै उहाँले कोरेको समृद्धिको गोरेटोमा नेपाल हिडिरहेको बताउनुभयो ।
आवश्यक पर्दामा जस्तो सुकै त्याग र जुनसुकै कठिन बाटो हिडन पनि पछि नपर्ने स्व गिरिजाप्रसाद कोइरालाको आर्दशनै लोकतन्त्रको मार्ग रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले राष्ट्रियताको नारा लगाउने ओली सरकारले सिमा मिच्चिदा समेत सिन्को नभाँचेको आरोप लगाउनुभयो ।
सिमाको बिषयमा सत्तापक्ष र प्रतिपक्षसवैको एउटै मत भएपनि ओली सरकार भारत सामु झुकेको आरोप लगाँउदै महतले मिठा भाषण दिनेहरुले काम गदैनन भन्ने ओली सरकारले प्रमाणीत गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुर सिंह लामाले तात्कालीन द्धन्दरत माओबादीलाई शान्ति प्रकृयामा ल्याउने क्रममा गिरिजाप्रसाद कोइरालले गरेको योगदान इतिहाँसमा स्वर्णअक्षरमा लेखिएको बताँउदै कोइराला महापुरुष भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नेपाललाई द्धन्दबाट शान्तिमा ल्याउन स्व कोइरालाको ठुलो देन रहेको बताँउदै नेपाली आन्दोलन र नेपाली काँग्रेसको संगठन बिस्तारमा गिरिजाप्रसाद कोइरालाको योग्दान महत्वपुर्ण रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङले गिरिजाप्रसाद कोइराला नेपाली काँग्रेसको मात्र नभई सवैको साझा नेता भएको बताँउदै उहाँले देखाएको बाटोमा काँग्रेस हिडनुपर्ने बताउनुभयो ।
जिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका उपाध्यक्ष शिव अधिकारीले स्वागत मन्तव्य व्यक्त गदै गिरिजाप्रसाद कोइरालाको त्याग, तपस्या र सर्मपणबाट काँग्रेसले पाठ सिक्दै संगठन बिस्तारमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ नुवाकोटको अध्यक्ष हिरा पाण्डे, नेपाली काँग्रेस तारकेश्वरका संयोजक होम बहादुर तामाङ लगायतले स्व कोइरालाको योग्दानको बारेमा चर्चा गर्नुभएको थियो ।

को हुन त सम्मानित समाजसेवी जगत बहादुर गुरुङ ?

एउटा सामान्य निम्न वर्गीय परिवारमा नुवाकोटको विकट गाउँ कुमरीमा जन्मिएका जगत अहिले आफ्नो कर्मका कारण आफ्नो समुदायमा मात्र होइन, अन्य जगतमा पनि ख्याती कमाउँदैछन् । नुवाकोट जिल्लाको रोल्पा भनिने कुमरीमा आजभन्दा ८ बर्ष अगाडि मात्र बिजुलीको उज्यालो पुगेको बताउँदै जगत भन्छन्, ‘राजधानीबाट नजिक भएपनि विकासका पूर्वाधारबाट जिल्लामै सबैभन्दा विकट गाउँ कुमरी हो ।’जहाँ जगतको बाल्यकाल बितेको थियो ।

आफ्नो जन्मथलोमा बिजुली पु¥याउन जगतले धेरै संघर्ष गर्नुप¥यो । सरकारको त ध्यान पुग्न सकेन सकेन, राजनीतिक दलहरुले पनि उक्त क्षेत्रलाई आफ्नो भोट बैंकमा मात्र प्रयोग गरेँ, जगत भन्छन्, ‘आजभन्दा १० बर्ष अगाडिसम्म राजधानीसँग जोडिने कुनै बाटो थिएन, हिडेरै ७ घण्टाको पैदल यात्रा गर्नु उक्त क्षेत्रका बासिन्दाको बाध्यता थियो ।’

कोही अकस्मात विरामी परेपनि उनीहरुले अस्पतालको मुख देख्दैनथेँ, गाउँघरको झारफुक र परम्परात उपचारमा नै भरपर्नु उनीहरुको नियति नै थियो । यस्तो नियतिलाई जगतले पनि भोग्न बाध्य भए । बाल्यकालदेखि नै रोगी जगतलाई परिवारमा काम नलाग्ने सन्तानको रुपमा हेर्न थालियो । शारीरिक रुपमा अशक्त जगतलाई परिवारको हेपिएको सन्तानको रुपमा हेर्न थालियो । घरमा कुनै काम गर्न नसक्ने देखेपछि उनका बाबुआमाले स्कूलतिर बरालिन सक्छ भने गाउँको स्कूलमा पठाए । तर, तीनै जगतले स्कूल गएपछि आफूलाई अध्ययनमा तल्लीन गराउन थाले । औसत विद्यार्थीका रुपमा जगतले क्रमशः माथिल्लो कक्षा उतिर्ण गर्दै गए । जब २०४८ सालमा उनले प्रवेशिका परीक्षा उतिर्ण गरे । तब उनको लागि उच्च शिक्षा हासिल गर्न राजधानी छिर्नुको विकल्प थिएन । राजधानीमा गएर उच्च शिक्षा हासिल गर्ने उनको उत्कट अभिलाषा भएतापनि परिवारले उनलाई राजधानीसम्म पठाएर पढाउने न त हिम्मत थियो न त उनको पारिवारिक आर्थिक अवस्थाले नै यसलाई साथ दिन्थ्यो । तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै जगतलाई राजधानीतिर हुँइकिन त कुमरी गाउँले रोक्न सक्यो, न त उनको कमजोर पारिवारिक आर्थिक अवस्थाले नै छेक्न सक्यो ।

पचास रुपैयाँ लिएर जगत जब काठमाण्डौ पुगे

आफ्नी आमाले दिएको बाटो खर्च बापतको पचास रुपैयाँ लिएर जगत जब काठमाण्डौ पुगे । तब उनको संघर्षका दिनहरु झन् कठोर बन्न थाल्यो । उनी कामको खोजीमा भौतारिन थाले । यो बीचमा उनले ६ महिना कालिमाटीस्थित एउटा भात होटलमा सहयोगीका रुपमा काम गर्न थाले । त्यसबेलाको अवस्था सम्झदै उनी भन्छन्,‘मैले भात होटलमा भाँडा माझ्ने काम गरेँ, त्यतिखेर मेरो हात पूरै फुटेको थियो ।’ त्यसो त उनले गलैंचा कारखानामा पनि ऊन कात्ने काम समेत गरे । राजधानीमा जिउन त्यति सहज अझै हुन सकेन, उनले पत्रिका बेच्ने काम पनि गरे । जगतले आफ्नो काम गर्ने अभिलाषालाई त्यतिकै मर्न दिएनन् ।

झण्डै ६ महिनासम्मको कठोर कामबाट जब उनले छुटकारा पाए, उनको जीवनमा केही परिवर्तनका संकेत देखा परे । एउटा पर्यटक कम्पनीले भारी बोक्ने भरियाको खोजी गरिरहेको उनले पत्तो पाए । उनले हिमालमा जाने पर्यटकहरुको डोकोमा भारी बोक्ने काम पाए । त्यो पनि उनको लागि त्यति सहज त थिएन । हिमालको चुचुरो नजिकसम्म झण्डै ६०र७० केजीको भारी बोकेर जानुपर्ने काम कठिन हुनु स्वभाविकै हो । शारीरिक रुपमा कमजोर जगतले यसअघि भारी बोक्ने काम भने गरेका थिएनन्, उनी भन्छन्, ‘यसअघि मैले भारी नबोकेपनि जिन्दगीको भारी बोकेरै भएपनि संघर्ष गर्न पर्दछ भनेर यो काम सुरु गरेँ ।’ झण्डै ३ बर्ष उनले यो कामलाई निरन्तरता दिए ।
मानिसलाई संघर्ष जीवन जिउनलाई मात्र होइन, अन्य परिवेशलाई पनि सिकाउने गर्दछ । जगतले पनि भारी बोक्ने काम गर्दैगर्दा विदेशी पर्यटकहरुसँग अंग्रेजी भाषा समेत सिक्न अवसर प्राप्त गरे । उनलाई लाग्यो पर्यटन व्यवसायमा लाग्नु छ भने यस सम्बन्धी तालिम लिनु जरुरी छ । उनले पर्यटकहरुका निम्ति पथप्रदर्शकको तालिम लिने निधो गरे । नेपाल सरकारको मान्यताप्राप्त संस्थाबाट तालिम लिएपश्चात जगत भरियाबाट पर्यटकहरुका लागि पथप्रदर्शक बन्न पुगे ।

बुबाको अन्तिम वाक्य- ‘भविष्यमा एउटा अस्पताल बना हैं’’

उनी आफ्नो कर्मथलोमा सक्रिय थिए । गाउँबाट अकस्मात उनलाई खबर आयो । उनका बाबु भीरबाट लडेर घाइते भएका छन् । उनका बाबुलाई अस्पताल ल्याउने कुनै विकल्प थिएन । कारण थियो एउटा भौगोलिक विकट भने अर्को थियो अभाव, गरिबी र अशिक्षा । २०४८ सालमा जगत उनको समुदायबाट प्रवेशिका परीक्षा पास गर्ने पहिलो व्यक्ति थिए । तत्पश्चात २०६२ सालसम्म उनको समुदायमा प्रवेशिका परीक्षा कसैले उतिर्ण गर्न सकेन । यसले पनि उनको समुदायको शैक्षिक अवस्थालाई पुष्टी गर्दछ । परिवारमा शिक्षाको अभावका कारण नै उनका बाबुलाई कसैले पनि अस्पताल लगेर उपचार गर्ने हिम्मत गरेन । झण्डै २ हप्तापछि जगत आफ्नो पुगे त्यतिन्जेल साँझ परिसकेको थियो । भोलिपल्ट बाबुलाई बोकेरै भएपनि अस्पताल ल्याउने उनले निधो गरेका थिए । बाबुसँग छलफल गर्दा उनका बाबुले बारम्बार भनिरहेका थिए कि, ‘तँ भएको भए मलाई अस्पताल लैजान्थिस् होला नि । बाबु हाम्रो गाउँमा पनि एउटा अस्पताल भए अकालमै ज्यान जाने थिएन । यदि तैले केही गर्न सकिस् भने भविष्यमा एउटा अस्पताल बना हैं रु’ बुबाको अन्तिम वाक्य जगतको निम्ति सदैव गडिरह्यो । भोलिपल्ट विहान उनका बुबाको देहान्त भयो ।

नियतिलाई कसले रोक्न सक्थ्यो र रु मन गह्रुगो बनाएर जगत आफ्नो काममा फर्किए । कामको दौरानमा धेरै विदेशी पर्यटकहरुसँग उनको समिप्यता बढ्नु स्वभाविकै थियो । कयौंले आफ्नो व्यवसायिकताभन्दा माथिको सम्बन्ध राख्न चाहेनन् भने कतिले जगतसँग आत्मिय सम्बन्ध पनि राखे । यही क्रममा सन् २००७ मा उनीसँग ३ जना अमेरिकी पर्यटकको भटे भयो । उनीहरुसँग काम गर्ने दौरानमा जगतले आफ्नो विगत र वर्तमान उनीहरुसँग व्यक्त गरे । उनको यो कुराले ती पर्यटकलाई मन छोयो । अनि उनीहरुले जगतको गाउँमा जाने निधो गरे । जगतले आफ्नो गाउँमा उनीहरुलाई हार्दिकतापूर्वक लिएर गए । समुदायमा पनि अनौठो र उत्साहपूर्ण हार्दिकता थियो । जब जगतको गाउँमा ती पर्यटकहरु पुगेर फर्के उनीहरुले आफूले सक्ने जति सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धता व्यक्त गरे ।

आफ्नै सक्रियतामा यसरी गाँउ बनाए जगतले

यसको झण्डै १० महिनापछि जगतलाई उनीहरुले आफ्नो मुलुक अमेरिका डाकेर त्यहाँ आर्थिक सहयोग जुटाउने काम गरे । त्यतिञ्जेल ४० हजार डलर सहयोग स्वरुप उनीहरुले जगतको गाउँको विकासका निम्ति उपलब्ध हुने भयो । तत्कालै जगत आफ्नो गाउँ फर्किएर समुदायमा यस बारेमा छलफल चलाए । तर उनको कुरालाई पत्याउने कसले रु समुदायले भन्न थाले, ‘एउटा सामान्य परिवारमा जन्मिएको तामाङको बच्चाले बाटो खन्ने काम कसरी गर्न सक्छ रु’ तर उनको अठोेट र सहयोगीहरुको हातको समर्थनले उनले आफ्नो गाउँसम्मको १३ किलोमिटर बाटो खन्ने कामको अगुवाइ गरे ।

त्यतिले उनलाई पुगेन । मुख्य राजमार्गबाट गाउँसम्मको यात्रा गर्न सडक मार्ग जोडिनु आफैमा उल्लेखनीय उपलब्धी थियो । अब उनको लक्ष्य गाउँमा स्वास्थ्य संस्था सञ्चालन गर्नु थियो । त्यसको निम्ति प्रारम्भमा उनले सन् २००९ मा २२ जना विदेशी विशेषज्ञ चिकित्सकहरु ल्याएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । गाउँमा अधिकांश महिलाहरुमा आँङ खस्ने समस्या देखियो । शिविरमा आएका २५० जना महिलाहरुको स्वास्थ्य परीक्षण गर्दा ६० जनालाई तत्कालै उपचार गर्नुपर्ने देखियो । उनीहरुका निम्ति गाउँमा उपचार सम्भव नभएपछि राजधानीको अस्पतालमा ल्याएर उपचार गरियो । अहिले तिनै आमाहरु जसको उपचारमा सहयोगी भूमिका निर्वाह गरेका जगतलाई आशिर्वाद दिँदै भन्छन्, ‘सायद तिमी नभएको भए हामी अहिलेसम्म बाँच्ने थिएनौं । तिमी त हाम्रो छोरा नै हौ ।’ अहिले कुमरीमा जगतकै प्रयासमा सुकमान मेमोरियल पोलिक्लिनिक सञ्चालनमा रहेको छ । जहाँ उपचारका निम्ति आधुनिक प्रविधियुक्त प्रयोगशाला, ११ शैया तथा नियमित स्वास्थ्य परीक्षण गर्नको निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरु मार्फत स्थानीयहरुले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् ।
गाउँमा आफ्नो समुदायबाट पाएको सद्भाव र मायाबाट जगत भावुक हुँदै भन्छन्,‘जीवनाई सार्थक रुपमा अगाडि बढाउन स्वास्थ्य र शिक्षा अनिवार्य छ ।’ स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउनको निम्ति उनले समुदाय स्तरमा महिला दिदीबहिनीहरुलाई साक्षरता अभियान नै चलाए । उनी भन्छन्, ‘जबसम्म महिला शिक्षित हुँदैन, तबसम्म घर,परिवार र समुदाय शिक्षित हुनै सक्दैन ।’ अहिले उक्त क्षेत्रमा सुविधा सम्पन्न विद्यालय समेत उनकै प्रयासमा निर्माण भएको छ । अहिले झण्डै ४ सय विद्यार्थीहरुले सो विद्यालयमा अध्ययन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु