
काठमाडौं ।दुबई,साउदी अरबलगायत मुलुकमा चलाइने लोकप्रिय ‘क्वाड’बाइक अब नेपालमै सयर गर्न पाइने भएको छ। यो मोटरसाइकल विशेषत मरुभूमिमा चलाइन्छ।
चित्लाङ रिसोर्टको भगिनी कम्पनी एड्भेन्चर गियर प्रालिले ५ ओटा ‘क्वाड’ बाइक सञ्चालनमा ल्याएको छ।
एड्भेन्चर गियरले ‘क्वाड’ बाइकको लागि रिसोर्ट पछाडि छुट्टै ३ किलोमिटरको रुट बनाएको रिसोर्ट सञ्चालक देवेन्द्र नेपालले जानकारी दिए।
‘३ किलो मिटरको रुट छ। जानेरआउने गरेर ६ किलोमिटर बाइकमा सयर गर्न पाइन्छ। बीच–बीचमा फोटो खिच्ने, रमाइलो गर्ने ठाउँ पनि बनाएका छौं,’ नेपालले जनाए।
२ जनासम्म चढ्न मिल्ने उक्त बाइक सयर गर्न चाहनेले २ जनाको ४ हजार र १ जना मात्रै चढेमा ३ हजार शुल्क तिर्नुपर्छ।
सामान्य मोटरसाइकल चलाउन सक्नेलाई यो बाइक चलाउन खासै गाह्रो नहुने उनले जनाए।
‘चार ओटा पांग्रा हुने भएकोले सामान्य बाइकको भन्दा ह्याण्डल थोरै टाइट हुन्छ। तर १० मिनेट चलाउँदैमा हात बस्छ,’ नेपालले जनाएका छन्।
चित्लाङ आउने पर्यटकहरूलाई केही नयाँपन दिने उद्देश्यले झण्डै ७५ लाख खर्चिएर ५ ओटा ‘क्वाड’ बाइक ल्याइएको नेपालले जानकारी दिए।
‘यहाँ आउने पर्यटकलाई हामी एड्भेन्चरस अनुभव गराउन चाहन्छौं। अब मिनी बन्जी, जीपलाइन लगायतको पनि हामी तयारी गरिरहेका छौं,’उनले भने।


