
कविता
माया
इन्द्रवज्रा=छन्द
आँखा जुधायौ मन तुल्बुलायो
सारै लजायौ तन सल्बलायो
लुक्यौ कुनेटो तिर लाज मान्दै
लोभ्याउने सुन्दर सान रोज्दै।।१।।
मुस्कान सोझै मुटु ताक्न थाल्यो
वाणी भुवा झैं तब लाग्न थाल्यो
सुस्ताउदै लोचन लाल पार्यौ
कैलै नछुट्ने गठजोड पार्यौ।।२।।
देखिन्न तिम्रो अनुहार जैले
धड्किन्छ छाती किन यो खुबैले
कस्तो लगायौ दरिलो निशाना
चस्किन्छ यस्तो किन यो हियामा।।३।।
खोज्दैन आँखा शरदी बगैंचा
रोज्दैन न्यानो कपडा गलैंचा
भोकै रहेको पनि याद छैन
साच्चै हरायो किन आज चैन।।४।।
बाबा न आमा अनि इष्ट नाता
कोही कसैमा अब छैन आशा
न्यानो र प्यारो रसिलो छ माया
सर्वस्व त्याग्दै बनिदिन्छु छाया।।५।।
शम्भु गजुरेल
नुवाकोट


