टोल विकास संस्थाहरुको सकृयता बेगर स्थानिय सरकारलाई लक्ष्य प्राप्ति गर्न हम्मे पर्छ : वडाध्यक्ष श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०८:३६

ललितपुर, २५ पौष – ललितपुर महानगरपालिका, वार्ड नं ५ का अध्यक्ष बिकाशमान श्रेष्ठले टोल विकास संस्थाहरुको सकृयता बेगर स्थानिय सरकारलाई लक्ष्य प्राप्ति गर्न हम्मे पर्ने बताएका छन् । महालक्ष्मी टोल बिकाश संस्थाको वार्षिक साधारण सभा माझ प्रमुख अतिथीको आसनबाट सभालाई सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन । शुक्रबार महा लक्ष्मी स्थान स्थित डिलाईट पार्टि प्यालेसमा आयोजित सो कार्यक्रम माझ आफ्नो धारणा सार्वजनिक गर्दै उनले भने ‘टोल विकास संस्थाले वडाको विकास एबम् योजना निर्माणमा होस्टे मा हैंसे मात्रै भनिदिए वडालाई नमूना वडा बनाउन सकिन्छ ।’ वडाध्यक्ष श्रेष्ठले टोल बिकाश संस्थाहरुको माध्यमबाट वडाको बिकाश गर्दा कामहरु धेरै प्रभावकारी भएको स्पस्ट समेत पारे । आफ्नो वडामा धेरै टोल विकास संस्था सक्रिय भएको बताउँदै उनले भने ‘जुन टोल विकास संस्थाले बढी वडा कार्यालयलाई घचघच्याउँन आईरहन्छ त्यो टोलमा बढी विकास हुन्छ नै’ साथै, ‘जुन टोलले हामीलाई बढी चिमोट्छ, पुच्छर निमोट्छ हामी त्यतै बढी दौडन्छौं। हामीलाई लाग्छ यो टोलका मानिस विकास निर्माणमा आफै सक्रिय हुन चाहन्छन्”, उनले भने।

टोल विकास संस्थाहरुको सक्रिय सहकार्यमा वार्ड नं ५ लाई ललितपुर महानगरकै नमूना वडा बनाउन लागिपरेको बताउँदै आफूले होस्टे भन्दा टोल बिकाश संस्थाहरुले हैंसे मात्रै भनिदिए वडालाई नमूना वडा बनाएरै देखाउने प्रतिबद्धता उनले जाहेर गरे।
वडाभित्रका कुनै पनि सडक वा गल्ली अँध्यारो हुन नदिने वचनबद्धता पुरा गर्न दिलो ज्यानले लागि पर्दै आएको बताउदै अध्यक्ष श्रेष्ठले महालक्ष्मी टोल विकास संस्थाले विकासमुलक काममा अग्रणी भूमीका खेल्दै आएकोमा साधुवाद ब्यक्त गरे ।

उक्त साधारण सभा कार्यक्रममा ललितपुर महानगरपालिका, वार्ड नं ५ की सदस्य शोभादेवी श्रेष्ठ प्रधान, संस्थाका पूर्व तथा नवनिर्वाचित अध्यक्ष रमेश शाक्य, कुमारीपाटी फष्टलेन टोल विकास संस्थाका अध्यक्ष ईन्द्र कुँवर तथा थसिखेल महिला समूहकी अध्यक्ष बसन्ती रिजालले मन्तब्य राखेका थिए । संस्थाका सदस्य विजयनाथ जोशीले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गरेका थिए. संस्थाकी कोषाध्यक्ष सरोजनी राजभण्डारीले संस्थाको बार्षिक आयब्यय बिबरण प्रस्तुत गरेकी थिईन्।

संस्थाले वार्ड कार्यालयको बजेट र संस्था अन्तर्गतका प्रत्येक घरबाट आर्थिक स्रोत जुटाएर टोलमा बत्ती राख्ने कार्य,सिसिटिभी क्यामेरा राख्ने कार्य, ढल बिछ्याउने कार्य, भित्री बाटो पक्की गर्ने कार्य आदि गर्दै आएको छ। संस्थाले महिलाहरुको सुरक्षाको लागी शारिरीक प्रतिरक्षा तालिम पनि दिने गरेको छ।त्यसो त कार्यक्रमका अतिथीहरुलाई स्थानिय महिला समूह आफैले तयार गरेका खादा पहिर्याईएको थियो ।

संस्थाको अध्यक्षमा शाक्य

साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । संस्थाको अध्यक्षमा रमेश शाक्य निर्वाचित भएका छन्। आज सम्पन्न संस्थाको दोश्रो बार्षिक साधारण सभाले शाक्यको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।

त्यसैगरि, संस्थाको उपाध्यक्षमा श्रीराम गुरुङ, सचिवमा रामु ताम्राकार, सह-सचिवमा क्रिष्ण प्रसाद नेमकुल तथा कोषाध्यक्षमा सरोजिनी राजभण्डारी निर्वाचित भएका छन् भने सदस्यमा निर्वाचित हुनेमा विजयनाथ जोशी, बसन्ती रिजाल, दुर्गा प्रसाद गुरुङ, पुष्पा श्रेष्ठ, क्रिष्ण भक्त महर्जन, रत्नमायाँ महर्जन, गणेशमायाँ प्रधान र युत्सबकिरण सुन्दर प्रधान रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु