• निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ११:१९

    काठमाडौं – निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शले आफ्नो ६९ औं साधारण सभा तथा चेम्बर दिवस २०७६ एवम् चेम्बरको ७० वर्ष औं वर्ष प्रवेशको अवसरमा सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको सभाध्यक्षता माझ आयोजित सो कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री युवराज खतिवडाले गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पक्ति शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

    कार्यक्रममा बोल्दैं अर्थमन्त्रीले भने तपाईहरुले गल्ती नै गरेको छैन भने किन डराउनु हुन्छ रु डर तिनलाई लाग्छ जसले गल्ती गर्नु भएको छ । गल्ती नगर्नुस् र नडराउनुस्’। उनले नेपालमा लगानीको वातावरण छैन भन्ने आरोपमा पनि कुनै दम नभएको पनि दावी गरे ।

    अर्थमन्त्री खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मूल्य निर्धारण गरेर एलसी खोल्ने गरेकोले विकृति बढेको उनले बताए ।

    अर्थमन्त्रीले अगाडी भने आर्थिक परिसूचकहरु जे छन् ति तिनै छन् । त्यसलाई मैले बढाई चढाई गरेर पनि हुँदैन र कसैले खत्तम भयो भनेर आलोचना गरेर पनि हुँदैन् । ति जहाँ छन त्यहि छन् । मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा छ । मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा जानलाई के सबै सरकारको सार्वजनिक लगानीबाट मात्रै त्यो पुरा भएको होला त रु पक्कै पनि होइन् । सरकारले त एक तिहाई भन्दा बढी लगानी गर्दैन । दुई तिहाई भन्दा बढी लगानी त जहिल्यै निजी क्षेत्रकै हुन्छ । जसको कारणले समग्र अर्थतन्त्र गतिशिल अवस्थामा अघि बढेको छ । यो तथ्य विहिन कुरा होइन, विवरणहरुले यहि भन्छ ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताए । त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताए ।

    अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझै पनि व्यवसायिक वातावरण बिग्रिएको बताए । कार्यक्रममा उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतिलाल दुगडले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रयत्नशील रहेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु