• एनआरएनए को अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा हुने बैंठकका एजेण्डा तय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७६, बुधबार १०:०८

    काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा हुने बैंठकका एजेण्डा तय गरिएको छ । गत डिसेम्बर २१ तारिख बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतीय बैठकले पोखरामा प्रत्यक्ष बैठकको आयोजना गर्ने निर्णय गरेको थियो । संघका महासचिव डा. हेमराज शर्माकाअनुसार देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधिलाई प्रदेशस्तरसम्म पुर्याउन पहिलो पटक संघको बैठक काठमाडौँ बाहिर आह्वान गरिएको हो ।
    नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यसहित यो वर्ष संघका गतिविधिहरू पनि नेपाल केन्द्रित हुने उनको भनाइ छ । आन्तरिक बैठक मात्रै नभई संघद्वारा आयोजना गरिने अधिकांश गतिविधि पनि नेपाल केन्द्रित हुने उनले जनाए । महासचिव डा. शर्माका अनुसार पोखरामा बस्ने यो प्रत्यक्ष बैठकले संघका विभिन्न विभागका प्रमुख र समितिका संयोजकहरूले कार्ययोजनाहरू प्रस्तुत गर्ने र त्यसैको आधारमा कार्य योजनालाई अन्तिम रूप दिदैँ वार्षिक कार्यतालिका तयार गरिनेछ । बैठकबाट संघका समिति र कार्यदललाई पनि पूर्णता दिइने छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रियालगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
    २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस्तै संघले अघि सारेको १० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तिको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायतका सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरूसँग छलफल र परामर्श गर्ने विषयमा बैठकमा छलफल गरिनेछ ।
    संघले दोश्रो विज्ञ सम्मेलन काठमाडौँ विश्वविद्यालयमा आयोजना गर्ने सोच अघि सारेको छ । हालसम्म संघका सम्मेलनहरू विभिन्न होटलहरूमा गरिँदै आएका थिए । विश्वविद्यालयमा आयोजना गरिने विज्ञ सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितमूलक बनाउन विश्वविद्यालयका उपकुलपति लगायतका उच्चाधिकारीहरुसँग भेटघाट गर्ने सम्बन्धमा बैठकमा छलफल गरिनेछ । दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा पनि पोखरा बैठकमा बहस गरिने महासचिव शर्माले बताए ।
    बैठकमा गैरआवासीय नेपालीहरूको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन सम्बन्धमा विश्वका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुबाट संकलन गरिएका सुझावहरु संघको तर्फबाट नेपाल सरकारलाई पेश गरिने विषयमा छलफल गरिनेछ । त्यसैगरी बैठकमा वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गर्नै सम्बन्धमा बहस गरिनेछ ।
    संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डीडीए) गराएको बताउँदै एमआईएस सिष्टमलगायत सिष्टम अडिट रिपोर्ट तयार हुन लागेको महासचिव शर्माले जानकारी दिएका छन् । डीडीए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने एनआरएनएले विश्वास लिएको छ । पोखरा बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबारे घनीभूत छलफल गर्ने एनआरएनएको तयारी छ ।
    गत अक्टोबरमा सम्पन्न संघको नवौं सम्मेलनमा आएका गैरआवासीय नेपालीहरुले देखाएको उच्श्रृंखल व्यवहारका कारण एनआरएनएको निकै आलोचना भएको थियो । निर्वाचन स्थलमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन अव्यवस्थित भएको थियो । सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरेर आफन्नो काम अगाडि बढाएको थियो । सोही विषयमा समेत यो बैठकमा विशेष छलफल गरिने बताइएको छ । त्यस्तै ‘देशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गर्ने सम्बन्धमा पनि बैठकमा छलफल चलाइने एनआरएएले जानकारी दिएको छ ।

    विज्ञप्ति

    आदरणीय नेपाली दाजुभाई दिदीबहिनीहरु,

    गैरआवासीय नेपाली संघको ९ औँ विश्व सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिले यसअघि नै केही महत्वपूर्ण निर्णयहरु गरेको सर्वविदितै छ । ती निर्णयहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने उद्देश्यले संघको बैठक यही १८ र १९ जनवरीमा गण्डकी प्रदेशको पर्यटकीय स्थल पोखरामा बस्दैछ । देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधीलाई प्रदेशहरुसम्म पुर्याउन पहिलो पटक संघको बैठक केन्द्रीय राजधानी काठमाडौं बाहिर आह्वान गरिएको हो । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले यस वर्ष संघका गतिविधीहरु पनि नेपाल केन्द्रित नै हुने भनि व्यक्त गरिएको प्रतिवद्धता अनुरुप यस बैठकको आयोजना पोखरामा गरिएको हो । संघका आन्तरिक बैठक मात्रै नभई संघद्वारा आयोजना गरिने अधिकांश गतिविधीमा पनि नेपाल केन्द्रित हुने समेत जानकारी गराउँदछौँ । बैठकका मुख्य एजेन्डाहरु निम्नानुसार छन् ।

    १) ’प्रदेशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गरिनेछ ।

    २) संघले अघि सारेका मुख्य विषयहरु (१० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तीको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायत) का सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरुसँग छलफल र परामर्श गरिनेछ ।

    ३) हालसम्म संघको सम्मेलनहरु विभिन्न होटलहरुमा गरिँदै आइएकोमा दोश्रो विज्ञ सम्मेलन भने काठमाडौं विश्वविद्यालयमा आयोजना गर्नेबारे विश्वविद्यालयका उप–कुलपति लगायतका उच्च–पदाधिकारीसँग भेटघाट गर्ने सम्बन्धमा छलफल गरिनेछ । जसले सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितामुलक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    ४) दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय,त्रिभुवन विश्वविद्यालय,पोखरा विश्व विद्यालय,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा बहस गरिनेछ ।

    ५) गैरआवासीय नेपालीहरुको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन गर्न संघको तर्फबाट नेपाल सरकारलाई सुझाव पेश गरिनेछ ।

    ६) वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गरिनेछ ।

    ७) संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डीडीए) गराइएको छ । एमआईएस सिष्टम लगायत सिष्टम अडिट रिपोर्ट पनि तयार हुँदैछ । डीडीए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने विश्वास हाम्रो छ । तसर्थ यस बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबार घनीभूत छलफल गरिनेछ ।

    ८) गत निर्वाचनमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन व्यवस्थित बनाउन ठूलो कसरत गर्नुपरेको थियो । सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ । सोही सम्बन्धमा समेत यो बैठकमा विशेष छलफल गरिनेछ । अर्कोतर्फ आर्थिक पारदर्शिता तथा निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले संघको विशेष महाधिवेशन बोलाउने निर्णय समेत भइसकेको अवस्थामा विशेष महाधिवेशनको तयारीको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

    ९) पोखरा बैठकमा संघका विभिन्न विभागका प्रमुख र समितिका संयोजकहरुले यस कार्यकालको कार्ययोजनाहरु प्रस्तुत गर्नु हुनेछ । यसको आधारमा वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरिनेछ । संघका समिति र कार्यदलहरुलाई पूर्णता दिईने छ ।

    हेम राज शर्मा
    महासचिव
    गैरआवासीय नेपाली संघ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु