आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ माघ २०७६, बिहीबार ११:४४

काठमाडौ ।–विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो ।
दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।
यसको पुनःनिर्माणका लागि चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरे । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल रानीपोखरीको काम चार वर्ष बित्दासमेत सम्पन्न हुनसकेको छैन । दिवसका अवसरमा मूल समारोह समितिले बुधबार भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले राससलाई जानकारी दिए ।
पहिलो पदयात्रा लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुग्नेछ । यसैगरी दोस्रो पदयात्रा भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूल समारोहको कार्यक्रममा सहभागी हुनेछ ।
दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ । दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ । यस अवसरमा काठमाडौँ र ललिपुर महानगरपालिकाले पनि बुधबार विशेष कार्यक्रम गर्ने विभागले जनाएको छ ।
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रमबाट आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गरेका छन् । बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै भूकम्पको जोखिममा रहेको नेपालजस्तो भूभागमा प्राकृतिक विपद्ले हुन सक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले नेपाली सबैलाई त्यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
“हामीले राज्य संरचनाका अङ्गहरुमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सबल बनाएर मात्र पुग्दैन, समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउन जरुरी छ, त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौँ”, प्रधानमन्त्री ओलीद्वारा बुधबार जारी सन्देशमा भनिएको छ । उनले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा त्यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुखद् अनुभवलाई विस्मृतिमा जान नदिने उद्देश्य रहेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले यतिखेर सरकार भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको र गोरखा भूकम्पबाट पुगेको क्षतिलाई सरकारले पुनःनिर्माण गरी निष्कर्ष नजीक पु¥याएको उल्लेख गरे । भूकम्पले ध्वस्त जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनलाई खण्डहर जमीनबाट उठाएर नवनिर्माणको सुखद् तस्वीरमा बदलेको प्रधानमन्त्री ओलीको भनाइ छ ।“यस तथ्यले हाम्रो पुनःनिर्माण अभियान गन्तव्य नजीकै पुगेको सुसङ्केत गरिरहेको छ”, उनले भन्नुभयो, “भूकम्पपछि ढलेको समाजको मनोबल उठ्ला त भन्ने प्रश्नलाई हामीले कामद्वारा नै सम्बोधन गरिरहेका छौँ र त्यसलाई हामी निकट भविष्यमै सम्पन्न गर्दैछौँ ।”
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण मात्रै नभई सरकारले यसबीचमा बारा र पर्सामा आएको हुरी प्रभावित जनताका उजाड बस्ती पाँच महीनामै निर्माण गरी हस्तान्तरण गरेको छ भन्दै प्राकृतिक विपत्तिका बेलामा राज्यका तर्फबाट हामीले अपनाएको लगाव र तत्परतालाई त्यसले प्रतिविम्बन गर्ने विश्वास व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ, “हाम्रा पुरातात्विक सम्पदाहरुको पुनःनिर्माणलाई हामीले परम्परागत मौलिकता कायम राख्दै दिगो तथा भूकम्पबाट अधिकतम सुरक्षित हुने तवरले अघि बढाएका छौँ, जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाएर पुनःनिर्माणको काम सफलतापूर्वक अघि बढाइएको छ ।” भूकम्प प्रभावित क्षेत्र मात्रै नभएर सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रुपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण र सामना गर्न पूर्वतयारी कार्यमा विशेष ध्यान दिनैपर्ने बताउँदै त्यसका निम्ति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेका छन् ।जनसवाल दैनिकी मा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु