फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरिमा बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ४ गते, शनिबार १८:५५

काठमाडौं, ४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त छौं ।’–उनले भने । उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे ।
शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए ।

‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ।’–उनले भने,‘हाम्रो देश सानो देश भएपनि सांस्कृति, सामाजिक र धार्मिक रुपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ ।’

उनले नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थलपनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिकस्थल र तिनीहरुको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरु यहाँ सुरक्षित हुनेपनि उनले विश्वास दिलाए । ‘र, सहज ढंगले आवातजावत गर्न सकेका छन् ।’–मन्त्री भट्टराईले थपे ।

उनले वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए । तर, बाहिर आलोचना भएपनि सरकारले विकास र समृद्धिको लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । ‘भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्नको लागि दुईवटा संस्था धार्मिक संस्था पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले अहिले राम्रोसँग काम गरिरहेका छन् । धार्मिक पर्यटनलाई पनि भ्रमण वर्षसँग जोड्ने काम गरेका छौं ।’

उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्नेपनि घोषणा गरे ।
त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रुपमा सफल पार्न र मनाउनको लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले धार्मिक महायज्ञले धर्म, संस्कृतिको रक्षा गर्ने विश्वास व्यक्त गरे । ‘यस्तो महायज्ञले धर्म र संस्कृतिप्रतिको आस्था र विश्वास बढाउँछ । यो भनेको सबैको साझा गन्तब्य हो ।’–धमलाले थपे ।

नेपाल गौतम बुद्ध, मुक्तिनाथ, माता जानकी, पशुपतिनाथको देश भएको सुनाउँदै नेपालमा धार्मिक पर्यटनको ठूलो संभावना रहेको धमलाको भनाई छ । ‘धार्मिक पर्यटनको विकास र सम्वद्र्धनको लागि अब राष्ट्रव्यापी अभियान अघि बढाउनुपर्छ । यस्तो कोटिहोमलाई राज्यले सहयोग गर्नुपर्छ । माननीय मन्त्री योगेश भट्टराईले यो महायज्ञलाई सहयोग गर्नुहुन्ुछ । म यसमा पूर्ण विश्वस्त छु । आगामी दिनमा पनि यस्ताखाले धार्मिक महायज्ञ गर्दै जानुपर्छ ।’ धमलाले नेपालको धार्मिक यात्राको लागि भारत र चीनबाट ठूलो संख्यामा पर्यटकहरु आउनेपनि बताए ।

कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

उनले भने,‘हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौं । नेपालमा सबैभन्दा बढि सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ । तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान दिएको छजस्तो मलाई लाग्दैन् । भ्रमण वर्षलाई सफल तुल्याउनको लागि पनि धार्मिक पर्यटन आवश्यक छ ।’

उनले नेपाल धार्मिक र जैविक विविधिता भएको देश भएकोले आफूहरुसँग राज्यले धर्म पर्यटनबारे छलफल नगरेकोमा भने दुःख व्यक्त गरे । ‘यो धार्मिक पर्यटनको देश हो । सरकारले यसलाई समावेश गरेर लैजानुपर्छ । अनिमात्रै भ्रमण वर्ष सफल हुन्छ ।’–उनले थपे ।

चन्द्रागिरी नगरपालिका काठमाडौंभित्र रहेको सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटनको महत्व बोकेको क्षेत्र भएको पनि अधिकारीको भनाई छ । ‘यो क्षेत्रको विकास हुनुपर्छ । यो आजको आवश्यकत्ता हो । यसप्रति सरकारको ध्यान जाओस् । हामी यो महायज्ञमा भ्रमण वर्षसँग जोडेर हवन गर्नेछौं । यो यज्ञले श्राप देशबाट सबैखाले हटाउँछ । देशलाई समृद्ध बनाउँछ ।’

उनले पछिल्लो समय देशमा भएका सबैखाले मठ–मन्दिरहरु अनियन्त्रित रुपमा चलिरहेको सुनाउँदै यसलाई नियन्त्रण गर्न जरुरी रहेको आवश्यकत्ता औंल्याए ।

कार्यक्रममा श्री १००८ स्वामी भागवत आचार्यले नेपाल भ्रमण वर्षलाई आफूहरुले आयोजना गर्न लागेको यज्ञले सहयोग पुर्याउँने विश्वास दिलाए । ‘यो धार्मिक कार्यमा सम्बन्धित मन्त्रालयले यसमा आर्थिक सहयोग र योगदान पुर्याओस भनेर आग्रह र अपेक्षा राखेका छौं ।’–उनले भने ।

उनले उक्त यज्ञमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि आमन्त्रण गरेको सुनाए । त्यतिमात्रै नभएर भारतका विभिन्न मठ, मन्दिरका पीठाधिश, मठाधिशलाई पनि निमन्त्रणा गरिएको उनले जानकार दिए ।

उक्त महायज्ञको सुरुदेखि अन्तिमसम्म (९ दिन) सम्म प्राईम टाईम्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेपनि उनले स्पष्टा परे । उनले भने,‘अरु मिडियाले पनि साथ दिनुहोस् । यस यज्ञमा विभिन्न देश र ठाउँबाट आएका मानिसहरुको गाँस, बाँसको व्यवस्था गरिदिन म सरकारी निकायहरुलाई आग्रह गर्न चाहन्छु ।’

आजको पत्रकार सम्मेनलको सभापतित्व भने समितिका अध्यक्ष राजाराम थापाले गरेका थिए । उनले भ्रमण वर्षलाईनै टेवा पुर्याउनेगरि आफूहरुले उक्त महायज्ञ तथा पर्यटन महोत्सवको आयोजना गर्न लागेको सुनाए ।

उनले भने,‘हामीले धार्मिक पर्यटनको विकासमा जोड दिएका छौं । यसको लागि विभिन्न देशका धार्मिक निकायहरुसँग कुरा गरिरहको छौं । हामीले यस्तो आग्रह गर्दा उहाँहरुबाट सकारात्मक सन्देश पाएका छौं ।’ उनले उक्त यज्ञ सफल बनाउनको लागि सहयोगको अपिल गर्नुको साथ यज्ञमा सहभागी हुनको लागि निमन्त्रणा पनि दिएका थिए ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘श्रीवैकुण्ठनाथ भगवानको असीम अनुकम्पाले विगत दुई वर्षदेखि श्रीवैकुण्ठनाथ दिव्यधाम प्रांगणमा सञ्चालन भइरहेको अष्टोत्तरशत (१०८) श्रीमद्भागवत सप्ताह महापुराणको महापूर्णाहुती एवं नेपाल भ्रमण वर्ष २०२० को पावन अवसरमा यस दिव्यधामका प्रमुख संस्थापक तथा संरक्षक अनन्त श्रीविभूषित स्वामी भागवतआचार्यज्यूको सत्संकल्पमा एवम् समस्त चन्द्रागिरिवासी भक्तवृन्दहरुको सक्रियता तथा कोटी हवन आयोजक समितिको आयोनजामा यही २०७६ फाल्गुन १ गतेदेखि ९ गतेसम्म (महाशिवरात्री) तदअनुसार १३ देखि २१ फेब्रुअरी २०२०) सम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सव हुने जानकारी गराउँछौं ।’

समितिका अनुसार दैनिक कोटी हवन विहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र अपरान्ह २ बजेदेखि ५ बजेसम्म रहेको छ । उक्त महायज्ञमा एक करोड दीप प्रज्वलन गरिनेछ भने कथा वाचन विहान ११ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु