
निरंकुशता पछिको निरंकुशता (गद्य कविता )
जिब्रो चलेको नै थियो
स्वर यन्त्र बजेको नै थियो
चेतना सग्लो थियो
आँखा तेजिला थिए
गोधुली मा
रौ केलाउन सक्ने खालका
भयको अँध्यारोमा मौन लुकेका।
नाडी मा मासी टमक्क थियो
पहाड खोतल्न सक्ने
तर
अदृश्य चेतावनी
निर्मम यातना
छाडा तरबार
सत्ताको को उन्माद को
सिलौटामा अदुवा झैँ
थिचियो चेपिदैं गयो
जिब्रो लुक्यो
आँखा फुट्यो
आवाज थुनियो
सुनसान मृत लास समान।
कुर्सीमा थुप्रीएको
खुरापात को जुठो चाखेका
स्याल हरूले
गाई जस्तै सोझा मूर्तिलाई
खुल्लापन को स्वतन्त्रता
समानताको अधिकार
गाँस बास र कपास को लालच
अनि
जन सत्ताको चाबी बाँडेर
कहिले
सत्ताको आडम्बरको छुरी ले
कहिले
खुरापाती हरूको खुकुरीले
अवोध हरू ढल्दै रहे
गल्लीमा भुकिरहने आवारा कुकुर ढले झैं
आवाज विहीन निशब्द।
कतै सनातन
कतै सर्वहारा
कतै प्रजातान्त्रिक
कतै प्रगतिशील
कतै बैज्ञानिक
मन्दिर हरू तयार भए
मुर्ति हरू ठडिए
प्रवचन दिने गुरुहरू आए
चेला हरू बढाए
उक्साए
उन्माद चर्काए
आवरण मा झगडिया झैँ व्यास हरू
हरेक साँझ
उच्च भट्टी मा
गोल चकटिमा माते।
हरेक का हातले
आदेशले
बर्बरता को पराकाष्ठा नाघ्यो
रगतको नदी
लासको पर्खाल
आरोपको महाभारत तयार हुदा
न त
निरिह को जिब्रो स्वतन्त्र भयो
न त आँखा नै उघारियो
झांगियो त केवल उस्तै निरंकुशता
मुखुण्डो फेरिएको
जहानियाँ को घेरो नाँघेको
कहानीयाँ हरूको
हरेक गल्छेडामा चलेको
कानुनी निरंकुशता ।
शम्भु गजुरेल
नुवाकोट


