
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो ।
एक साताअघि नै छनौट समितिले सिफारिस गरे पनि केही दिन नियुक्ति रोकिएको थियो ।
छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो । छनौट समितिमा दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए ।


