मेरो भोगाई र बुझाईमा धैर्यता र निरन्तरता मनमा अठोट भयो भने जीबनमा सफलता हासिल हुन्छ :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २२, बुधबार २०:१४

रामजी खाँड
चर्चित गायक, कलाकार

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लगभग दुई दशकदेखि निरन्तर लागिरहेका गायक रामजी खाँड आजको दिनसम्म पनि ब्यस्त गायकको रूपमा चिनिन्छन । गायक खाँड पछिल्लो समय म्युजिक भिडियोमा पनि ब्यस्त छन् । गायन र मोडलिङ दुबै पेसामा जमिरहेका खाँडको विस २०५६ सालबाट सांगितिक यात्रा शुरू भएको थियो । रामजीले पहिलो एल्बम ‘वालिङ बजारमा’ बोलको गीतबाट आफ्नो गायन यात्रा अगाडि बढाएका थिए । पहिलो गीतमा गायिका शर्मिला गुरुङ र शिला आलेसँग स्वेर दिएका रामजीले सयभन्दा बढी गायिकाहरुसँग गीत गाइसकेका छन । उनले अहिलेसम्म ७ हजारभन्दा बढी गीतमा आवाज दिईसकेका छन् । गीतमा संगीत भर्न पनि उस्तै सिपालु खाँडले झण्डै २ सय भन्दा बढी गीतमा मीठो संगीत भरेका छन । १ हजारभन्दा बढी गीतमा अभिनय गरिसकेका खाँडले दुई दर्जनभन्दा बढी राष्ट्रिय अवार्डहरू हात पारिसकेका छन् ।
स्याङजा जिÞल्लामा जन्मिएका गायक रामजी खाँड विद्यालयमा अध्ययन गर्दादेखि नै गीत गाउन, नाच्न रुचि राख्ने गर्दथे । जिल्लामा हुने गायन प्रतियोगिताहरूमा धेरै पटक प्रथम स्थान हात पार्न सफल भएको सम्झना सुनाउँछन उनी । खाँड गीतसंगीत अलावा संघ संस्थाहरुमापनि आबद्ध छन । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको द्धितिय उपाध्यक्षसमेत रहेका गायक, स्याङजाली कलाकारहरूको संस्था ‘स्याङजा स्रस्टा सदन’ का नवनिर्वाचित अध्यक्ष पनि हुन् । यसैगरी प्रस्तोता समाज नेपालको सदस्य रहेर पनि काम गर्दै आईरहेका कलाकार खाँडसँग गीतसंगीत र उनको समग्र संगीत यात्राबारे गरिएको छोटो कुराकानी :

आज करोडौं श्रोताहरुको प्रिय कलाकारका रुपमा चिनिनुुहन्छ । यहाँलाई दर्शकमाझ गायक रामजी खाँड भनेर चिनाउने पहिलो गीत कुन होे ?

मलाई रामजी भनेर चिनाएको पहिलो गीत हो ‘पछ्यौरी लेउ बैना’ हो । जुन गीत लाखौको संख्यामा अडियो सिडी बिक्री भएको थियो । दर्शकले यो गीत यति धेरै मन पराईदिनु भयो कि शायद यो गीत नसुन्ने दर्शक कोही छैन होला ।

हिजो र आजको संगीत बजार कस्तो छ । गीतसंगीत मा लागेर बाँच्न सकिन्छ ?

हिजो फिजिकल बजार थियो जहाँ अडियो क्यासेट, सिडीको जमाना, रेडियो टेपमा गीत सुनिन्थ्यो । क्यासेट कम्पनीहरू ले रोयल्टी रामै्र दिन्थे । आज डिजिटल बजार छ । लाखौ खर्च हुन्छ, आम्दानी जिरो छ । तर, चलेका कलाकारहरू लाई देशविदेश स्टेज शो गरेर भने राम्रो कमाई हुन्छ । मज्जाले बाँच्न सकिन्छ, बाँचिरहेको छु । मसँग जे छ गीत संगीतले दिएको छ ।

मासिक कति आम्दानी गर्नुहुन्छ ?
हाहा.. राम्रै छ आम्दानी । तर, नभनौ है ।

निकै महँगो पाश्रिमिक लिनुहुन्छ भन्ने सुनिन्छ । कति लिनुहुन्छ देश तथा बिदेशका स्टेज शोहरुमा पारिश्रमिक ?

कस्तो कार्यक्रम हो, आयोजक को हो, कार्यक्रमको उद्देश्य के हो ? सो अनुसार नै पारिश्रमिक तय हुन्छ । कार्यक्रम अनुसार पारिश्रमिक डिल गर्छु । आयोजक खुशी हुनेगरी र मलाई पनि चित्त बुझ्ने गरी पारिश्रमिक लिन्छु ।

कार्यक्रममा निकै व्यस्त हुनुहुन्छ देश विदेशमा, कुनै त्यस्तो अविष्मरणीय घटना सम्झना छ ?

धेरै छन् धेरै ठाउँमा । कुनै एक समय मेरो गोल्डेन टाइम थियो । म कार्यक्रमको लागी टीकापुर गएको थिए । दर्शक भरिभराउ थिए । मलाई छुन हात मिलाउन र सेल्फी खिच्न आतुर थिए दर्शक । मैले कार्यक्रम सकाउदै थिए, त्यसबीचमा एकजना चेली भागेर स्टेजमा आइन र फोटो खिचौं भनिन् । मैले ओके भने, उनले फोटो खिचिन र गालामा किस गरेर भागिन, त्यो घटना अहिले पनि सम्झना छ । यस्ता घटनाहरु धेरै भइरहन्छन ।

यति धेरै गीत गाइसक्नुभयो, चर्चित गीतहरूको रुपमा कुन–कुन गीतहरु सम्झिनुहुन्छ ?

प्राय स्टेजमा गाईरहने गीतहरू पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसल, मायालुको बोली, फुलफुलेर पँहेलै भयो, बनैमा फुल बसायो, जिम्माल बाउकी छोरी, दामी देखिन्छ, छलछल पानी, हावा चल्यो, डाली नुग्यो, धर्ती कुनको आकास जुनकै हो, यो संसारको रीत, मैले मन पराएको छु, धेरै माया गर्छु, ए हावा जाऊ, तिम्ले देको चिनो हरायो, एकादशी बजारमा, निधारैमा लेखेसी, अमिलो रसैले, तिमी राम्री हाँसोले, सर सर, सोल्टिनी, ढल्के बरको छाँयाले, पानको पत्तालगायत धेरै गीतहरु छन् । आफुले गाएका प्राय गीतहरु याद हुन्छन ।

स्याङ्जादेखि काठमाडौंसम्मको यात्रा कसरी भयो ?

जब मैल एसएलसी दिए, त्यसपछि म यतिकै खाली थिए । तर, मैले पहिले नै सोचिसकेको थिए कि म काठमाडौं गएर एलबम निकाल्छु । तर, मसँग काठमाडौं जाने कुनै बहाना थिएन । जब एएलसीको रिजल्ट आयो र म पास भए । बुवा भारतीय आर्मीमा हुनुहुन्थ्यो । मैले मुमालाई फकाएर म अब काठमाडौं पढ्न जान्छु भने । मुमासँग २५ हजार पैसा लिए झोला बोकेर हिडे रात्री बस चढेर राजधानी शहर । मेरो आफन्त हुनुहुन्थ्यो, त्यसैले मलाई गाह्रो भएन । मैले काठमाडौं आएर त्यो पैसाले एलबम निकाले । पहिलो गीत थियो ‘वालिंङ बजारमा’, पहिलो गीत खासै सफल नभए पनि स्याङजा जिल्लामा भने मेरो राम्रो पहिचान बनाईदियो र लगानी पनि उठ्योे । फेरि उत्साहका साथ अर्को एल्बम गरे ‘बस्यो दिलभरी’ लगानी स्वाहा भयो । अब मलाई गाह्रो भयो । क्याम्पस भर्ना हुनसमेत सकिन । पैसा छैन, घरमा जान मन पनि छैन् ।
यो राजधानीको झिलिमिली शहरमा मन हरायो । अब केहि गर्छु भने तर, गर्ने के त ?

सोचे जागिर गर्छु । त्यो बेला यस्तो थियो लोकदोहोरीले व्यापक बजार ओगटेको समय थियो । रात्रीकालिन नयाँ–नयाँ दोहोरी साँझहरू खुलिरहेका थिए । आदरणीय अग्रज कलाकार दाईहरूसँग राम्रो परिचय भईसकेको थियो । अलि नजिक र मलाई माया गर्नुहुने भगवान भण्डारी दाईलाई कामको लागि बुझिदिन अनुरोध गरे । दाईले ट्रायल को लागी बोलाएको छ जाउँ भन्नुभयो । जावलाखेल मानभवनमा रहेको लण्डन दोहोरी साँझमा गएर गीत गाए । स्वर सबैले मन पराउनुभयो । ‘ल भोलिदेखि जागिर शुरू भो भन्नुभो’ यसरी काम शुरु गरे । पहिलो महिना त तलब आयो, त्यसपछि त छैन् टिप्सले खर्च चलाउनु पथ्र्यो ।

त्यसपछि कसरी अघि बढनुभयो ?

त्यहीं काम गर्दै जाँदा मलाई अर्को दोहोरीबाट अफर आयो । यता तलब नपाएको झोकमा हिडे । यसरी दोहोरी चहार्ने काम भयो । टिप्स जम्मा गरेर एल्बम गर्न थाले फल्प को फल्प भयो । घर परिवारबाट अब यसरी हुदैन भनेर विदेश जान दबाब आइरहेको थियो । एक मनले जाऊँ जस्तो लाग्ने फेरि होईन दिन आउँछ, अझै मेहनत गर्छु जस्तो लाग्ने । १० सौ बर्ष बित्यो हँुदैन । फ्रस्टेसनमा जाने अबस्था आयो । मेनपावर चलाउने चिनेको दाईहरूलाई दुबई जान्छु भनेर पासपोर्ट बुझाए । यता गीत पनि गर्दै गरे । बाहिर जाने तयारी नै भइरहेको थियो । २–३ वटा गीत रेकर्ड गरेर जाने निधो गरे । शायद मेरो टाइम आएको थियो होला ‘देउरालीको भट्टीपसल’ गीत हिट भयो, चर्चा चुलिदै गयो । त्यसपछि लगत्तै ‘पछ्यौरी लेउ बैना’ आयो । त्यसले त बजार नै पिट्यो । लाखौंको सँख्यामा अडियो क्यासेट बिक्री हुन थाल्यो । एक पछि अर्को हिट गीत निस्किए । व्यबसायिक गायक बने । स्टेज, स्टुडियो, देशबिदेश बाट अफर आऊन थाल्यो र आजको दिन सम्म दौडिरहेको छु । नेपालमै सफलता पाएपछि बिदेश जाने सोच र बाध्यता पनि हरायो । मेरो भोगाई र बुझाईमा धैर्यता र निरन्तरता मनमा अठोट भयो भने जीबनमा सफलता हासिल हुन्छ ।

नेपालमा पहिलोपटक आयोजित मौलिक रियालिटि शो ‘नेपाल लोक स्टार’ को जज पनि बन्नुभयो । कस्तो अनुभब रह्यो ?

नेपालमा यति ठुलो धनराशि पुरस्कार रहेको लोकगीतको पहिलो रियालिटि शो ‘नेपाल लोक स्टार’ हुनु हामी र अब आउने नयाँ पुस्ताको लागी अत्यन्तै गौरब गर्ने विषयको कुरा हो । लोकगीत गाउनेहरूको लागी यति ठूलो प्लेटफर्म नेपालमा थिएन । अब प्रतिभा हुनेहरु यहि प्लेटफर्मबाट माथि आउन सक्छन् । कोही पनि खुम्चिएर प्रतिभा लुकाएर बस्नुपर्दैन । जसमा निर्णायकको भुमिका निर्वाह गर्ने मौका आयोजक बाट मलाई प्राप्त भएको थियो । निकै कठिनताका साथ निर्बाह गरे । यति राम्रा राम्रा प्रतिभाहरू थिए राम्रा मध्येको उत्कृष्टलाई छान्ने निर्णायकले दिएको नम्बर र दर्शकको भोटको आधारमा टप फोर घोषणा भयो । निर्णायकको कुर्चीमा बसेर जज गर्न निकै गाह्रो हुँदोरहेछ । केही सिक्ने र बुझ्ने अवसर मिल्यो । धन्यवाद

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु