
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उहाँले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गर्नुभएको थियो ।
सोही क्रममा उहाँले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नाका साथै अमर प्रहरी स्मारकमा पुष्पहार र अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उहाँलाई आजदेखि लागू हुनेगरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उहाँको कार्यकाल जम्मा पाँच महिनाको छ ।
विसं २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गर्नुभएका प्रहरी महानिरीक्षक ज्ञवाली विसं २०५८ वैशाख १८ गते प्रहरी नायब उपरीक्षक, २०६६ मङ्सिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।


