
उदयराज पाण्डे
नेपाली राजदूत
मलेसिया
उदयराज पाण्डे मलेसियाका लागि नेपाली राजदूत हुनुहुन्छ । नेपाली कामदारहरुका लागि आकर्षक गन्तब्यका रुपमा रहेको मलेसियामा लाखौं नेपाली कामदारहरु कार्यरत छन् । यस्तै मलेसियामा सायैं नेपाली संघसंस्था तथा व्यवसायीहरु पनि रहेका छन् । नेपालीका लागि उपयुक्त हावापानी र अवसर रहेको मलेसियामा अवसरहरुसँगै विविध चुनौतीहरु पनि छन् । मलेसियामा नेपाली कामदारहरुका लागि रोजगारीको भरपूर अवसर हुँदाहुँदै नेपालकै कारण १ वर्षभन्दा बढी समय मलेसियाको रोजगारी बन्द रह्यो र केही समयअघि मात्र फेरि मलेसियाको रोजगारी खुलेको छ । नेपालसँग व्यापारिक सम्बन्धसमेत रहेको मलेसिया दक्षिणपूर्वी एसियाको विकसित र समृद्ध मुलुक मानिन्छ । यस्तोमा मलेसियासँग नेपालको सम्बन्ध, मलेसियामा नेपाली कामदार तथा नेपालीका समस्या, अवसर तथा चुनौती तथा समग्र पक्षका विषयमा केन्द्रित रहेर जनसवाल राष्ट्रिय दैनिकका लागि रामजी बगालेले राजदूत पाण्डेसँग गरेको कुराकानीको सारसंक्षेप :
यहाँ साउदी अरेबियापछि मलेसियामा महामहिम राजदूतको रुपमा आउनुभयो, के छ अवस्था मलेसियाको । के भिन्नता पाउनुभयो ?
मुल रुपमा भन्नु पर्दा दुबै देशमा हाम्रा नेपाली कामदारहरु गएर काम गर्ने भएकोले श्रमसम्वन्धी मुद्दाहरु लगभग समान देखिन्छन । तर, हावापानी, भूगोल, संस्कृति आदिको आधारमा भने दुबै देश फरक–फरक छन । यद्यपि, हाम्रो चासो र सरोकार भनेको दुबै देशमा रहेका हाम्रा कामदारहरुको हकहित र अधिकारको संरक्षण गर्ने कुरामै केन्द्रित रहेको छ ।
नेपालीहरुको लागि मलेसिया लामो समय बन्द भएपछि खुलेको छ, अहिले कस्तो छ नेपालीहरुको लागि रोजगारीको सम्भावना मलेसियामा ?
नेपालीहरुको लागि यो वर्ष डेढ लाख भन्दा बढीको हाराहारीमा रोजगारीको अवसर मलेसियाबाट आउने सम्भावना देखिएको छ । विगतमा बन्दको बेलाको ग्यापसमेतलाई परिपुर्ति गर्ने हिसाबले भन्दा पनि बढी यो वर्ष व्यापकरुपमा रोजगारीको अवसर सृजना हुने देखिन्छ मलेसियामा । किनभने विगतमा लगभग ७५ हजारको हाराहारीमा नेपालीहरु आउँथे प्रत्येक वर्ष । तर, अहिले डेढ लाखभन्दा बढी संख्यामा आउने निश्चित भएकोले पनि प्रष्ट पार्दछ अहिले मलेसियाको रोजगारीमा धेरै सम्भाबनाहरु छन् ।
नेपाली कामदारहरुलाई रोजगारीको सम्भावनाहरु के–कस्ता छन र चुनौतीहरु के छन् मलेसियामा ?
यहाँको मुख्य सम्भावना भनेको सेक्युरेटी (सुरक्षा) क्षेत्र नै हो । यो क्षेत्रमा कि मलेसियन कि नेपालीले मात्र काम गर्न पाउने भएकोले सेक्युरेटी क्षेत्र सबैभन्दा प्रवल सम्भावनाको क्षेत्र हो । अहिले नयाँ क्षेत्र प्लान्टेसनको क्षेत्रमा पनि नेपालीको धेरै माग आइरहेको छ । साथै, विगतदेखि नै चलिआएको म्यानुफ्याक्चर, क्लिनिङलगायतको क्षेत्रमा पनि सम्भावना बढदै आएको छ । अहिले हामी दुई देशबिच सम्झौता भएको एमओयु अनुसार ‘फ्रि भिषा, फ्रि टिकट’ लागु गरेर मलेसिया आउने नेपालीहरुलाई कुनैपनि शुल्क नलाग्ने बनाउनु पर्दछ भनेर लागिरहेका छौ । तर, यो काम चुनौतीपूर्ण रहेको छ । मुख्य रुपमा स्वास्थ्य जाँच र बायोमेट्रिकको खर्च नेपालमा कामदारले तिर्नुपर्दछ । त्यो पनि मलेसिया आएको पहिलो महिनाको तलबबाट उनीहरुले फिर्ता पाउँदछन । तर, नेपालमा दलाललगायत अन्य एजेन्सीहरुले थुप्रै पैसा लिने गरेको गुनासो आइरहेको छ । यो नै अहिलेको लागि हाम्रो चुनौती रहेको छ ।
मलेसिया आएपछि कामदारहरुको मेडिकल र बायोमेट्रिको पैसा फिर्ता दिने भन्ने कुरा भएको थियो सहमतिमा, त्यो दिईएको छ त यहाँ ?
मलाई लाग्छ दिइएको छ । यदि नदिएईको भए त्यसबारे कामदारहरुले गुनासो गर्थे होलान । अहिलेसम्म त्यसबारे कुनै गुनासो आएको छैन । एम्बेसीले त्यसबारे चासो पनि दिईरहेको छ । हामीले हाम्रो अफिसियल फेसबुकमार्फत यो कुराको जानकारी पनि गराईरहेका छौ ।
अहिले पनि ‘फ्रि भिषा, फ्रि टिकट’ त लागु भएको पाईदैन । अहिले पनि नेपाली कामदारहरु ठूलो धनरासी खर्च गरेर आइरहेको अवस्था छ । यो विषयलाई कसरी लिनु भएको छ यहाँले ?
यो त सीधा ठगी हो । यसलाई हाम्रो सरकारले नियन्त्रण गर्नुपर्दछ । जो ठगिएको छ, उसले तुरुन्तै सबै विवरणसहित ठगीको विरुद्ध उजुरी गर्नु पर्यो । सरकारसमक्ष खबर पुर्याउनु पर्यो । सरकारले तुरुन्तै कारबाही गर्नुपर्दछ । यदि उजुर गरेन भने सरकारले कसरी थाहा पाएर कारबाही गर्ने त्यस्तालाई ? त्यसैले सबैजना यस विषयमा सचेत हुनुपर्दछ । बढी पैसा लिनेहरुबाट जोगिनु पर्दछ । बढी पैसा लिनेहरुलाई उजुरी गर्नु पर्दछ । हामीले पनि यस्तो विषयमा चासो बढाइरहेका छौ । हामीले पाएका छौ कि विशेष गरेर बढि पैसा सीधा मेनपावरद्धारा नभईकन एजेन्ट परिचालन गरेर लिने रहेछन । कामदारहरुलाई यो कुरा अन्त कतै भन्नुभयो भने तपाई जान पाउनु हुँदैन भनेर भन्ने रहेछन । त्यसैले यस्तो कुरा कानुनत उजुरीको रुपमा आउन सकेको छैन । जब कि कसैले बढी पैसा लिएमा हामीलाई सम्पर्क गर्नुहोला भनेर सरकारले बारम्बार भनिरहेको छ र पनि हाम्रा कामदारहरुले त्यसो गर्दैनन । अब यसको समाधानको लागि हरेक अन्तरवार्ताहरुमा सरकारको तर्फबाट पनि प्रतिनिधि राखिनुपर्दछ ।
अहिले मलेसियामा देखिएका मुलभुत समस्याहरु के–के हुन ? यहाँ जेलमा कति नेपाली छन, अवैधानिक नेपालीहरु कति छन ? घरफिर्ती कार्यक्रम कस्तो रह्यो दूताबासको ?
पहिले अवैधानिक नेपालीहरुको समस्या ठूलै थियो । हरेक दिन एक एक जना कामदारहरु विरामी भएर आउँथे, मेरो त भिषा नि छैन कसरी घर फर्किने होला भन्थे । उपचार गर्न पनि गार्हो हुन्थ्यो । डकुमेन्ट नभएपछि इन्सुरेन्स पनि हुदैन । यो बहुत ठूलो समस्या थियो । तर, मलेसियन सरकारले ५ महिना जति समय दिएर अवैध कामदारहरुलाई नेपाल फर्काउन मद्दत गर्यो । सो अवधिमा दूतावासको विशेष पहलमा लगभग ६ हजार जति नेपालीहरुलाइ घर फर्काउन सफल भयौं र अहिले त्यो समस्या घटेको छ । जेलमा पनि अहिले हाम्रो नेपालीहरु अत्यन्तै न्यून संख्यामा छन । अहिले, जेलमा लगभग २०० भन्दा कम संख्यामा छन नेपालीहरु छन् । तिनिहरुलाई पनि हामीले फलोअप गरेर सजाय कसुर प्रक्रिया पूरा गराएर घर फर्काउन पहल गरिनै रहेका छौ ।
राजदूतावासले यत्रो पहल गरेर धेरै अवैध नेपालीहरुलाई घर फर्काएको भएपनि अझै पनि हजारौ नेपालीहरु अवैध रुपमा मलेसियामा रहेका छन नि ?
–होइन । हजारौंको संख्यामा छैनन । हामीले पनि खोजीनीति गरिनै रहेका छौं । किनभने, जब गत डिसेम्बरमा घरफिर्ती तोकिएको समय सकिएपछि मलेसियन सरकारले धरपकड गरिरहेको छ । सात दिनमा मात्र २५ सय भन्दा बढी कामदारहरु पक्रियो । तर यत्रो २५ सय पकड्दा पनि त्यो भित्र नेपालीको संख्या कम रहयो । त्यसैले पनि हामी भन्न सक्छौ अवैध नेपालीहरु निकै कम मात्रामा छन मलेसियामा ।
मलेसिया नेपाली कामदारको लागि सबै हिसाबले उत्कृष्ठ मानिन्छ । तर, एउटा गुनासो सधै सबैबाट सुनिन पर्दछ, यहाँको सुरक्षा व्यवस्था कदमै जोखिमयुक्त छ भनेर । जस्तो कि कामदारहरुलाई मलेसियामा यहाँका पुलिसहरुले पनि लुट्छन, यहाँका स्थानीयहरुले कुट्ने लुट्ने गर्दछन नि ?
–केही कुराहरु त किम्बदन्तीको रुपमा फैलिएका छन् । म यहाँ आएको पनि लगभग एक वर्ष हुन लाग्यो । मैले अहिलेसम्म पुलिसले लुट्यो भन्ने जम्मा २ वटा केस सुनेको छु, त्यो पनि छापा मार्दा । मेरो यो अवधिमा स्थानियले कुट्यो भन्ने एउटा केस पनि आएको छैन । बरु नेपाली र अरु देशका मानिसहरुको झगडा परेको केस आएको छ । वा अन्य विभिन्न खाले केस आएको छ तर तपाईले भने जस्तो पुलिसले र स्थानियले लुट्ने भन्ने केस आएको छैन । यो किम्बदन्तीको रुपमा फैलिएको जस्तो होला सायद । यस्ता घटनाहरु फैलाउन सामाजिक संजालले समेत नकारात्मक भूमिका खेलेको छ । अन्तअन्त भएका घटनाहरु संजालमा हालिदिएर मानिसलाई भावुक बनाउने खालका कार्यहरुले गर्दा पनि यस्तो हल्ला फैलिन्छन ।
यहाँ नेपालीहरु र नेपाल सरकारले रुचाईएको र सम्भावना र आशा गरेको राजदूतको रुपमा अहिले मलेसियाको राजदूतको रुपमा हुनुहुन्छ । यहाँ थुप्रै वेथितिहरु छन । यस्ता वेथितिलाई थितिमा बदल्न के–के कामहरु भैरहेको छ ?
–हामीले शुरुमा बन्द रहेको मलेसियालाई कसरी खुलाउने भन्नेमा काम गर्यौ । त्यसलाई खुलायौं । त्यसपछि अवैधरुपमा रहेका नेपालीहरुलाई कसरी घर फर्काउने भन्नेमा काम गरियो र, धेरै नेपालीहरुलाई घर फर्काएरै छाड्यौं । अब हामीले दुईटा काम शुरु गरिसकेका छौ । एक त मलेसियाको जेलमा रहेका नेपालीहरुलाई कसरी चाँडो भन्दा चाँडो घर फिर्ता गर्ने र दोस्रो चाहिं नेपाली कामदारहरुलाई के कस्तो समस्या जस्तो कि तलबको समस्या, स्वास्थ्यको समस्या, व्यवहारको समस्या आदि जे जस्ता समस्याहरु छन् दूतावासलाई जानकारी गराउनुहोला भनेका छौं । हामीले पनि निरिक्षण गरिरहेका छौ भनेर हाम्रो फेसबुकमार्फत सूचित गरिसकेका छौ । यो काम हामीले थालिसकेका छौं ।
अहिले दूतावास चाहिं के कति पारदर्शी छ त ?
–हामीले दूतावासबाट एकदमै पारदर्शी ढंगले काम गरिरहेका छौं । अहिले हामी जो जति कर्मचारी छौं यहाँ सबै आ आफ्नै ढंगले दूतावासको मर्यादाक्रममा रहेर कतव्र्यनिष्ठ भएर पारदर्शी ढंगले काम गरिरहेका छौं । यदि जनताले दूतावासले पारदर्शी ढंगले काम गरेन भन्ने गुनासो गर्न थाल्नुभयो र हामीलाई पनि त्यस्तो लाग्न थाल्यो भने हामीले त्यसको उपचार खोज्छौ । जस्तो कि हामीले पहिला केहि समस्या देखिएकोर्ले कर्मचारीहरु परिवर्तन गर्यौ । भोलि हामी जो जहाँ रहेपनि दूतावास सधैं पारदर्शीरुपमा चलिरहनु पर्दछ ।
अन्त्यमा मलेसिया जो आउदै हुनुहुन्छ । उनीहरुको लागि मलेसियाको रोजगारीको बारेमा केहि बताईदिनुस न ?
–जो जो नेपालीहरु मलेसिया आउन चाहनुहुन्छ । पहिला नेपाल र मलेसियाबिचको श्रम सम्झौता पढनुहोस, मलेसिया काम गरेर फर्किनुभएको नेपालीहरुसँग यहाँको बारे बुझनुस, त्यसबाहेक वैदेशिक रोजगार विभागमा गएर जानकारी लिनुस, मलेसियाबारे राम्रोसँग अध्ययन गरेर बुझेर मात्र आउनुहोला । राम्रो बुझेर राम्रो कम्पनीमा मलेसिया रोजगारीमा आउँदा राम्रै हुन्छ । मलेसियाको हावापानी राम्रो भएकाले पनि नेपालीको लागि रोजगारी थप सहज भएको छ । मलेसिया आएर अबैधानिक काम नगर्न र आएकै कम्पनीमा काम गर्नुहुन म सबैलाई आग्रह गर्दछु । यहाँहरुले काम गर्ने क्रममा कुनै समस्या परे दूताबासलाई सम्पर्क गरि आफ्नो समस्या बताउनोस हामीले यथासक्य छिटो समस्या समाधान गर्नेछौ ।


