
बुटवल-रुपन्देहीको तिलोत्तमाको मुख्य सडकमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । सडक यात्रीको समस्यालाई ख्याल गरी लागि शौचालय निर्माण गरिएको हो । सडकमा सार्वजनिक शौचालय नभएपछि सडक यात्रीलाई दिशा पिसाव फेर्न समस्या थियो ।शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाएको हो ।
बुटवल– भैरहवा सडक अन्तर्गत तिलोत्तमाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडक किनारमा १० वटा शौचालय बनाएको हो । छ लेन सडकको दुवैतर्फको सर्भिसलेनमा आधुनिक प्रविधिका शौचालय निर्माण गरिएको छ ।खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख लगानीमा सर्भिसलेनमा सिंगल सिटका १० वटा र डबल सिटका ३ वटा शौचालय बनाएको छ ।
भारतीय कम्पनी इलिफो बायोटेक प्राइवेट लिमिटेडबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो । तिलोत्तमा हाटबजार, डाइभरटोलको हाटबजार र मगर घाटमा पनि खानेपानी संस्थाले शौचालय निर्माण गरेको छ । साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।
खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई सफल बनाउने गरी सार्वजनिक शौचालयहरु राखिएको शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हरि तिवारीले जानकारी गराउनु भयो ।
व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तममा प्रयोग गरिएको अध्यक्ष तिवारीले बताउनु भयो । २४ सै घण्डा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था हुने छ । शौचालयहरुमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएका शौचालयहरु फागुनको अन्तिमबाट प्रयोगमा ल्याउने गरी निर्माणको काम भैरहेको छ ।
सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु दिनको दुइदेखि तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था गरेको छ ।
शौचालयहरुका लागि आवश्यक पर्ने विद्युतको लागि विद्युत प्राधिकरणसंग खानेपानी संस्थाले सहमति गरिसकेको छ ।
शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले अहिले ६ हजार २ सय ६३ घरधुरीमा पानी वितरण गर्दै आएको छ । जाडो समयमा प्रतिदिन ८० लाख लिटर र गर्मी समयमा १ करोड १० लाख लिटर पानी वितरण गर्दै आएको खानेपानीले यस वर्षदेखि ८ हजार लिटरसम्म निःशुल्क पानी वितरण गरिएको अध्यक्ष तिवारीले जानकारी गराउनु भयो । घरहरुको प्रयोगका लागि ८ हजारसम्म वितरण भएको पानीको रिडिङ चार्जका लागि प्रतिघर २० रुपौंमात्र महशुलको रुपमा घरधनीबाट संकलन गर्ने गरेको छ । खानेपानी संस्थाले आगमी वर्षदेखि १० हजारदेखि १२ हजार लिटर पानी निःशुल्क वितरण गर्ने योजना बनाएको छ ।
आफ्नै ल्यावबाट पानी परिक्षण गरी उपभोक्तालाई शुद्व खानेपानी वितरण गरिएको र नगरपालिकाको मापदण्ड अनुसार नयां पायप लाईनका लागि पायप वितरणसमेत गरिएको अध्यक्ष तिवारीको भनाइ छ ।


