• अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी भएको छैन् : अग्रवाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार १८:१९

    काठमाडौं, २४ फागुन । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले विश्वभरि ७७ देशमा कोरोनाको प्रभाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकोले यसबारेमा अलिक बढि आतंक सिर्जना भएको सुनाए । उनले भने,‘अहिलेसम्म यसबाट मर्नेको संख्या ३२ सय नाघेको छ । चीनबाहेक ८० प्रतिशत यसको संक्रमण कोरिया, ईरान र इटालीमा देखिएको छ ।’
    कोरोनाको आतंक सिर्जना भएपछि नेपालमा अत्यावश्यक वस्तुको माग र भण्डारण भएको हुनसक्ने उनको भनाई छ । उनले भने,‘तर, यसबारेमा अस्पष्ट र भ्रामक रुपमा प्रचार नगरौं । एक्कासी माग बढेपछि अभाव देखिनु स्वभाविक हो ।’ अग्रवालले अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी नभएको जिकिर गरे । उनले भने,‘हामीले पनि मनिटरिङ गरिरहेका छौं ।’

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले व्यापारी तथा व्यवसायी साथीहरुलाई समेत आफुहरुले समस्या समाधान गर्नको लागि अपिल गरिसकेको पनि जनाए । उनले कोरोनाको कारण विश्वव्यापी रुपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकोले नेपालमा पनि यसको प्रभाव पर्नु स्वभाविक भएको स्पष्ट पारे ।

    ‘पर्यटन क्षेत्रमा त झनै नकारात्मक प्रभाव परेको छ । अहिलेपनि ९२–९३ प्रतिशत हाम्रो अर्थतन्त्र आयातमुखी नै हो । हरेक देशमा अहिले उत्पादनमा असर परेको छ ।’–उनले सुनाए । उनले सरकारलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्नसमेत सुझाएका छन् । उनले प्राकृतिक विपद् कतिखेर आउँछ ? भन्ने कुरा कसैलाई पनि थाहा नभएकोले सरकारले पूर्वतयारी गर्नुपर्ने तर्क गरे ।

    उनले भने,‘कम्तिमा पनि तीन वर्षलाई पुग्नेगरि अत्यावश्यक वस्तुको भण्डारण गर्नुपर्छ । बफर स्टकको रुपमा राख्नुपर्छ ।’ कोरोनाको प्रभावबाट जोगिन सक्नुपर्ने उनको प्रार्थना छ । उनले भने,‘हामी यसको झट्काबाट बच्न सकौं ।’
    उनले चेम्बर अफ कमर्सले समेत समिति बनाएको सुनाउँदै बजारमा कुनैपनि अत्यावश्यक वस्तुको अभाव नभएको सुनाउँदै यसबारेमा प्यानिक क्रिएट गर्न नहुने सुझाव दिए । उनले आम उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु