दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेनिटाइजर लगाउँदै सिनेमा हेर्दै ! छायांकन रोकिएन, रिलिज रोकियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते, शनिबार १९:०२

काठमाडौं – सरकारले कोरोनाबारे विशेष सवधानी अपनाउन र भिडभाडमा नजान आग्रह गरिरहेको छ । चलचित्र हल मानिसको भिडभाड हुने ठाउँ हुन् । उसो भए अब सिनेमा हलहरु बन्द हुन्छन् त ?कोरोनाको संन्त्रास बढेसँगै काठमाडौंका सिनेमा हलहरुको अवस्था के छ भन्नेबारे हामीले सोधखोज गर्‍यौं ।

फागुन १८ गते सरकारले सभा-सम्मेलन तथा ठूलो जमघट हुने कार्यक्रम नगर्न अनुरोध गरेपछि चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ जस्ता संस्थाहरुले चलचित्र सम्बन्धी कार्यहरु रोक्न आग्रह गर्दै विज्ञप्ति जारी गरिसकेका छन् ।अब के गर्ने भन्नेमा चलचित्र संघ भने अहिलेसम्म छलफलकै क्रममा छ । हल बन्द नै गर्ने वा सावधानी अपनाएर सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको संघका पदाधिकारी बताउँछन् ।

कोरोनाका कारण चलचित्रको लगानी डुब्ने निर्माताको चिन्ता

चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान हलहरु बन्द गर्ने कि चलाउने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् । प्रधान भन्छन्, ‘हामीले मात्रै हल बन्द गर्छु भनेर हुदैँन । निर्माता, वितरक र हलवाला बसेर मात्र यसको निर्णय हुन्छ । अहिलेका लागि विशेष सावधानी अपनाएर हामीले सिनेमा हलहरु सञ्चालन गरिरहेका छौँ ।’कोरोनाबाट सावधानीका लागि क्युएफएक्स हलले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोगमा ल्याएको छ ।

यी सामाग्रीहरु क्युएफएक्स चेनमा रहेका सम्पूर्ण हलहरुमा प्रयोग गरिएको छ ।अन्य कतिपय हलहरुले पनि दर्शकका लागि सेनिटाइजर लोसन, पाउडर तथा स्प्रे प्रयोगमा ल्याएका छन् ।

रोकिएन छायांकन

चलचित्र निर्माता संघले चलचित्रको छायांकन रोक्न अनुरोध गरिसकेको छ । छायांकनमा कोरोनाको जोखिम बढी हुने भन्दै सम्भव भएसम्म छायांकन रोक्न निर्माता संघले आग्रह गरेको हो ।त्यस्तै, नेपाल चलचित्र प्रविधिक संघले पनि प्रविधिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै चलचित्रको छायांकन रोक्न अनुरोध गरेको छ ।तर, हाल दुईवटा चलचित्रको छायांकन भने धमाधम चलिरहेको छ । अन्य केही चलचित्र छायांकनको तयारीमा छन् ।

चलचित्र ‘ए मेरो हजुर ४’ र ‘परदेशी २’ ले पोखरालाई छायांकनस्थल बनाएर चलचित्रका दृश्यहरु खिचिरहेका छन् ।चलचित्र ‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापा आफूहरु चलचित्रको छायांकन रोक्न तयार नरहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘नेपालमा कोरोना संक्रमित भेटिएका छैनन् । यत्तिकै अपवाह फैलाइएको छ । हामी डराइहाल्नुपर्ने अवस्था पनि होइन । त्यसैले हामी निरन्तर चलचित्रको छायांकन गर्नेछौँ ।’निर्माता थापा विशेष सावधानी अपनाएर चलचित्रको छायांकन गर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपाललाई जोखिमयुक्त देश मानिएकाले हामी सावधानी अपनाउने नै छौँ । तर, रोकिहाल्ने अवस्थामा छैनौँ ।’शनिबार ‘ए मेरो हजुर ४’ को छायांकन १० औं दिनमा चलिरहेको छ ।

छायांकनरत अर्को चलचित्र ‘परदेशी २’ का निर्देशक नारायण रायमाझी भने रोकिने वा छायांकन जारी रहने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् । रायमाझीले अनलाइनखबरसँग भने, ‘हामीले गाउँका दृश्य खिचिरहेकाले तुरुन्तै रोकिहाल्ने भन्ने छैन । तर, आजभोलि नै निर्णयमा पुग्नेछौँ ।’निर्देशक दीपेन्द्र लामा चलचित्र ‘दुई नम्बरी’को छायांकनमा तम्सिएका छन् । केही दिनमै जम्बो टोलीसहित उनी छायांकनका लागि कास्की जाने तयारीमा छन् ।

निर्देशक लामा पनि चलचित्रको छायांकन नरोकिने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘चलचित्र विकास बोर्डले नै सूचना निकालेको भए सोच्नुपर्ने अवस्था थियो । तर, विकास बोर्डले सूचना निकालेको छैन । त्यसैले कुनै रोकथोक बिना हामी चलचित्र खिच्नेछौँ ।’छायांकनमा भन्दा भिड हुने चलचित्र हलहरु बन्द नभइरहेको अवस्थामा चलचित्रको छायांकन रोक्न भन्नु आफैँमा मूर्खता भएको निर्देशक लामाको तर्क छ ।

चलचित्र रिलिजमा असर !

कोरोनाको त्रासका कारण चलचित्रको रिलिज मितिमा उथल-पुथल भएको छ । ठूलो लगानी गरेका निर्माताहरु कोरोनाले लगानी डुबाइदिने हो कि भन्ने त्रासमा छन् ।आगामी शुक्रबार अर्थात् फागुन ३० गते रिलिजको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २‘ को रिजिल पछि हटिसकेको छ । कोरोनाको त्रासका कारण अनिश्चितकालका लागि चलचित्रको रिलिज पछाडि सारिएको हो ।

त्यस्तै चैत ७ गते रिलिज हुने भनिएको चलचित्र नीरफूल पनि पछि हटेको छ । कोरोनाकै त्रासले यो चलचित्रले पनि रिलिज मिति पछाडि सारेको हो । निर्देशक फूलमान वलले आइतबार चलचित्रको नयाँ रिलिज मिति तोकिने बताए ।आउँदो चैत २१ गते रिलिज मिति पक्का गरेको चलचित्र ‘लक्का जवान’को प्रदर्शनी पनि अन्योलमा परेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसी चलचित्र सार्ने वा सोही मितिमा देखाउने भन्ने दोधारमा छन् ।

यही अन्योलका कारण अहिलेसम्म चलचित्रको प्रचार-प्रसार सुरु नै गरिएको छैन ।चैत २८ गते रिलिज हुने भनिएको चलचित्र ‘चपली हाइट ३’ भने सोही मितिमा आउने निर्माता अर्जुन कुमारले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु