सातदोबाटोमा उभिएकी महिलालाई कारमा लगेर एकाबिहानै बलात्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते, आईतवार ०८:२६

काठमाडौं -काठमाडौं उपत्यकाअन्तर्गत ललितपुरको सातदोबाटो चोकबाट एक महिलालाई अपहरण शैलीमा कारमा चढाई लगेर बलात्कार गरिएको छ।

सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तका निमित्त कार्यालय प्रमुख (प्रहरी निरीक्षक) रमेशकुमार श्रेष्ठका अनुसार २७ वर्षीया महिलाले आफू कारचालकबाट बलात्कृत भएको भन्दै उजुरी दिएकी हुन्।

घटना शुक्रबार बिहानैको हो। २७ वर्षीया ती विवाहित महिला बौद्धबाट गाडी चढेर सातदोबाटो आएकी थिइन्।

चापागाउँको गुम्दीस्थित माइतीकहाँ जान हिँडेकी ती महिलालाई एउटा कारले पछ्यायाे।

‘त्यसपछि मलाई कारचालकले जबर्जस्ती आफ्नो कारमा हाल्यो र अज्ञात ठाउँको अज्ञात घरमा लगेर बलात्कार गर्‍याे,’ पीडित महिलाको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले भने।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार घटना शुक्रबार बिहान त्यस्तै साढे ७/८ बजेतिरको हाे।

घटनालगत्तै बिहान ९ बजेतिर पीडित महिला उजुरी लिएर सातदोबाटो महानगरीय प्रहरी वृत्तमा आएकी उनले जानकारी दिए।

उजुरीमा पीडित महिलाले ती व्यक्ति (बलात्कार गर्ने) नचिनेको तथा कारमा हालेर कुन ठाउँको कुन घरमा लगेको भन्ने पनि थाहा नभएको उल्लेख गरेकी छन्।

‘घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौं,’ प्रहरी निरीक्षक श्रेष्ठले शनिबार बिहान नेपालखबरसँग भने, ‘हामीले गाडी पहिचान गरिसकेको छौं, अब आरोपित व्यक्ति चाँडै पक्राउ पर्नेछ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु