• प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार ०८:११

    काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उनको मिर्गाैलाको प्रत्यारोपण गरिएको मंगलबार सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उनलाई केही दिनपछि निवास फर्काइने जानकारी दिए । अस्पतालमा मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रा डा खड्गाले चिकित्सीय हिसाबले उनी मंगलबारै घर फर्कन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उनलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ ।
    त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्रा डा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकको आत्मविश्वास बढेको छ भने । उनले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि अस्पतालमा अङ्ग प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्न सक्ने हुनाले सरकारले यसको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।
    यता प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ हुन ६ महिनादेखि वर्षदिन लाग्ने प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले बताएकी छन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले सक्रिय भएर हिँडडुल तथा साधारण मानिसले जस्तो जीवन यापन गर्न समय लाग्ने बताएकी हुन् । एक हप्ता अगाडि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताइन । ‘प्रधानमन्त्री ओलीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ । उहाँलाई भिडभाडमा नजान सल्लाह दिएको छ । तर, उहाँले दैनिक कार्य आफ्नो कार्यालयबाट गर्न सक्नुहुन्छ’, डा. सिंहले भनिन । प्रधानमन्त्री ओलीको घाउ निको हुन समय लाग्ने भएकाले धेरै हिँडडुल गर्न नहुने शाहले जानकारी दिइन । उनले अस्पताल विश्वस्त भएपछि डिस्चार्ज गर्ने जानकारी दिइन । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’, डा. शाहले भनिन् । साथै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार आइरहेको शाहले जानकारी दिइन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु