जेनेभा(रासस/एएफपी), विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो सङ्ख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार सङ्सारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।
हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८६० जना सङ्क्रमित रहेको इटालीमा पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङ्क्रमित रहेका छन् । छ हजार ७४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८९० जना सङ्क्रमित रहेका छन् । शनिबार प्राप्त समाचारअनुसार एक हजार ५८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङ्क्रमित रहेका छन् । उपचारपछि १८० जना घर फर्किएका छन् । सङ्युक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३५२ जना सङ्क्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५७५ जना सङ्क्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने छ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ ।
कोरोनाभाइरस सङ्क्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्याण्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ ।दक्षिण एसियाली अन्य मुलुक श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा दुई जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना सङ्क्रमणको आशङ्का गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छैनन् ।