कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज बौद्धिक कुटनीतिज्ञको रुपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विषयको सहप्राध्यापकबाट रिटायर्ड भाद्धारज अध्ययनशील व्यक्तित्व हुन् । कतारमा नेपाली श्रमिकको सुरक्षामा प्रतिबद्धता रहेका राजदूत भारद्वाजले ‘अस्पतालमा रहेका, कोमामा रहेका र जेलमा बसेका श्रमिकको समस्या समाधान गर्न पहल गरिरहेका छन् । नेपाल र कतारको सम्बन्धलाई थप मजबुद र सुमधुर बनाउन लागिपरेका भारद्धाज कतारबाट नेपालले लगानी तथा निर्यातका लागि सम्भावनको ढोका खोल्नुपर्ने बताउँछन् । लखौं नेपाली कामदार र नेपालीहरु रहेको कतारमा रहेर सबैमाझ मृदुभाषी राजदूतको परिचय बनाएका भारद्धारजसँग कतारमा रहेका नेपालीहरुको अवस्था, वर्तमा र भविष्यबारे केन्द्रित रहेर जनसवाल दैनिकका लागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप :
तपाई राजनीतिक पृष्ठभूमिको मान्छे अहिले कतारको महामहिम राजदूत हुनुहुन्छ, कसरी चलिरहेको छ दूतावास ?
कतारमा रहेको नेपाली राजदूतावास एकदमै उपयुक्त ढंगले आफ्ना कामकारवाही गर्दै चलिरहेको छ । म राजदूत भएर कतार आएको छ महिना भयो । यसबीचमा राम्रै काम भैरहेको छ । श्रमिकहरुको हकहितमा र संस्थागत एवं राष्टिय कार्यहरुमा मैले विशेष चासो दिएको छु । काम विस्तारै अघी बढीरहेको छ । एउटा राजदूतावास र राजदूतले निर्वाह गर्नुपर्ने भूमिका हामीले सफलतापूर्वक निर्वाह गरिरहेका छौं भन्ने लाग्छ ।
तपाई राजदूत भएर आउनुभए पछि अहिलेसम्म गर्नुभएका उल्लेखनीय कार्यहरु के–के छन ?
म आएको भर्खर छ महिना मात्र भएको छ । यो निकै छोटो समय हो । छोटो समयमा ठूला–ठूला एवं दीर्घकालीन कामहरु सम्पादन हुन सक्दैनन नै । यद्यपि मैले धेरै दीर्घकालीन कार्यहरुको थालनी भने गरिसकेको छु । सोहीअनुसार कतारका उच्चपदस्थ व्यक्तित्वहरुसँगको भेटवार्ता गरिरहने अभियानमा मैले के पाएको छु भने नेपालीहरुलाई कतारमा सम्भावना नै सम्भावना रहेको, नेपाललाई कतारले उच्च प्राथमिकतामा राखेको, कतारमा नेपालीहरुलाई असाध्यै रुचाईएको, नेपालीहरुले कतारको विकास र रुपान्तरणमा पुर्याएको योगदानको सदावहार सराहना गरिएको मैले पाएको छु । श्रमिकहरुको हक अधिकार सुचिश्चित गराउने, श्रमिकहरुको समस्या र गुनासाहरुको सम्बोधन, यहाँका विभिन्न बन्द भएका कम्पनीहरुले नेपालीहरुलाई तलब, बीमा, क्षतिपुर्ति केहीपनि नदिइ घर फर्काइएको लगायतजस्ता विभिन्न समस्याको क्षतिपुर्ति दिलाई र समाधान गरिएको छ । यस्ता यावत समस्याहरुको समाधानको निमित्त यहाँको श्रम मन्त्री, मन्त्रालयका सचिवहरु, नेपालको श्रममन्त्रालयसँग परामर्शलगायत कुटनीतिक पहल गरिरहेको छु ।
त्यस्तै, विभिन्न झमेला एवं मुद्धामामिलामा फसेका चार जना नेपाली चेलीहरुलाई उद्धार गरेर राजदूतावासले आश्रय दिएर उनिहरुको मुद्धामामिला मिलाएर घर फर्काउने काम गर्यौं । साथै, एकजना ठग भनौ वा मानव तस्करले पोल्यान्ड लगिदिन्छु भनेर जनही १२ लाख लिएर ३ जनालाई यहाँ ल्याएर बिचल्ली पारेर छाडिदिएको रहेछ । हामीले त्यो ल्याउने एजेण्ट रामचन्द्र शर्मालाई तत्काल गिरफ्तार गरेर कानुनी कार्वाहीकोलागि हामीले गरेको पहल अनुसार सफल भयौं । साथै, ती बिचल्ली परेका ३ नेपालीहरुलाई पनि हामीले नेपाल फर्काउने र उनीहरुको डुबेको पैसा उठाउन समेत विशेष पहल गयौं । यी कामहरु मेरो कार्यकालमा भएको उपलब्धिपूर्ण कामहरु हुन ।
कतारमा नेपालीहरुले स्थापना गरेका धेरै संघसंस्थाहरु छन । तपाईले त्यस्ता संघसस्थाहरुसँग के कस्तो सहकार्य एवं समन्वय गर्नुभएको छ ?
कतारमा नेपालीहरुले धेरै संघसंस्थाहरु खोलेका छन । कतिपय सामाजिक संघसस्थाहरु खोलेका छन् भने कतिपय अवैधानिक एवं अनौठाखालका संघसस्थाहरु पनि खोलेका छन । त्यस्ता वैधानिक सामाजिक एवं सास्कृतिक संघसस्थाहरु जस्तो कि उदाहरणको लागि एनआरएनए जस्ता संस्थासँग त हामीले निरन्तर समन्वय र सहकार्य गर्दै आएका छौ र गर्ने नै छौ । तर, कतार सरकारको कानुन अनुसार अवैध संस्थाहरुलाई भने हामीले पनि मान्यता दिदैनांै । कतारमा विशेष गरेर राजनीतिक, धार्मिक, साम्प्रदायिक, जातिय एवं विभाजनकारी संघसंस्थाहरु नखोलिएकै राम्रो हुन्छ । यहाँका सरकारले त्यस्तो समाजमा विभाजन वा खलल पुर्याउने संस्थाहरु खोलिएको मन पराउँदैन र वैधानिकता पनि दिदैन । मैले कतारका बिभिन्न संघसँस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको छु , अहिलेको कोरोनाको महामारीमा पनि सहयोगका निम्ति संघ संस्थाको ठुलो योगदान रहन्छ ।
कतारमा नेपालीहरुको लागि बैदेशिक रोजगारीको निमित्त सम्भावना र चुनौती के कस्ता रहेका छन ?
कतार पछिल्लो समय मध्यपूर्वको उदयमान आर्थिक शक्तिको रुपमा आईरहेको देश हो । आर्थिक शक्ति भन्नासाथ त्यहाँ रोजगारीको सम्भावना र श्रमको उचित मूल्य हुन्छ । कतार एउटा सानो टापु देश भएकोले गर्दा यसको आफ्नै चुनौती छ । जस्तोकि छिमेकी मुलुकहरुले लगाएको नाकाबन्दीलाई खेपेर आफ्नो बढ्दै गएको आर्थिक बृद्धिमा कमी आउन नदिई, विकास निर्माणमा कमी आउन नदिई, रोजगारीमा कमी आउन नदिई र विश्वमा उदाउँदो आर्थिक शक्तिको रुपमा स्थापित भैरहन कतार सफल भएको छ । यद्यपि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने कतार नेपालीहरुलाई रोजगारीको लागि असाध्यै सम्भावना बोकेको मुलुक हो । त्यही कारणले नै यस्तो सानो देशमा पनि ३ लाख ५१ हजार नेपालीहरुले उचित खालको रोजगारी पाईरहेका छन् । यद्यपि अहिले कतारको विकासको प्रमुख ठुला कार्यहरु सम्पन्न भईसकेको र अहिले कतारले आफ्नो शहरहरुको कलात्मकता र सुन्दरता जस्ता साना तर महत्वपूर्ण काममा ब्यस्त भएकोले नेपालीहरुको संख्या घट्दो छ । तर, सीप, उचित प्राविधिक एवं व्यवहारिक शिक्षा, क्षमता र कला भएका मान्छेहरुलाई अहिले पनि उत्तिकै अवसरहरु छ कतारमा । त्यसको लागि नेपाल सरकारले प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गरेर पठाएमा प्रशस्त सम्भावना छ ।
पछिल्लो समय कोरोना भाईरसको आतंकका कारणले नेपालीहरुलाई कतार प्रवेशको लागि पूर्ण रुपमा रोक लगाईएको छ । कस्तो छ अवस्था ?
यसै सिलसिलामा, पछिल्लो समय कोरोना भाईरसको त्रासले गर्दा कतारमा पनि विश्वभरका मानिसहरुलाई आवातजावातमा विशेष निगरानी गरिएको छ । यद्यपि, कतार आफैमा स्वास्थ्यमा एकदम उच्च पहुँच र व्यवस्था भएको देश भएकोले यहाँ भएका नेपालीहरुलाई कुनै त्रासमा बस्नुपर्ने अवस्था छैन । र, अहिलेसम्म कुनै पनि नेपालीलाई यहाँ कोरोना लागेको छैन । यति हुँदाहुँदै पनि नेपाल, भारत, पाकिस्तान, श्रीलंका लगायत जस्ता देशहरु कोरोनाको उच्च जोखीममा रहेको देशहरु भएकोले रोजगारीको लागि केही समयको लागि प्रवेश निषेध गरिएको हो । हाल नयाँ आउने नेपालीहरु रोकिएका छन, घर बिदा र छुट्टीमा गएकाहरुपनि नेपालमै रोकिएका छन् ।
कोरोना प्रभाबका कारण नेपालबाट आउनु पर्ने आउन पाएका छैनन, हजारौ नेपालीहरुको जागीर गुम्नेजस्तो पो देखियो, के गर्दैछ राजदूताबास ?
तल्काललाई नेपालबाट कोही आउन पनि पाउदैन र यहाँबाट फर्किने गरी जान पनि पाउदैन । किनभने यो आपतकालीन अवस्थाको निर्णय भएकोले यसले दीर्घकालीनरुपमा के कति प्रभाव पार्दछ भन्नेबारे यहाँको सरकारले सोच्नसम्म पनि भ्याएको छैन । यद्यपि, विस्तारै त्यस्तो समस्याको समाधान आउला । यहाँ स्वास्थ्य व्यवस्था राम्रो भएकोले छिटै यो समाधान हुनेछ भन्नेमा म बिश्वस्त छु । अझ हामी प्रार्थना गरौ कि कोरोना भाईरस विश्वबाट छिट्टै समाप्त होस । त्यसपछि कतार पनि तुरुन्तै खुलिहाल्नेछ ।
हाल कतारमा रहेका लाखौ नेपालीको अभिभावक तपाई हुनुहुन्छ, पछिल्लो समय जन्मभूमि गएका तर कर्मभूमि फर्किन नपाएका नेपालीहरुको लागि तपाईले थप के प्रयास गर्दै हुनुहुन्छ ?
यहाँको स्वास्थ्य सेवा विश्वभरिकै प्रख्यात र व्यवस्थित छ । जसले गर्दा कोरोनाको समस्या धेरै समयसम्म रहदैन भन्ने मलाई लाग्दछ । यदि कथमकदाचित यो अवस्था धेरै रह्यो भने र नेपाल बिदामा गएकाहरुको रोजगारी नै धरापमा परेर तलब सुविधा समेत बन्द भयो भने बल्ल हामीले त्यसबारे सोच्ने, पिर लीने, चिन्ता गर्ने र सो समस्याको समाधानको लागि कुटनीतिक पहल गर्नुपर्ने हुन्छ । यद्यपि, त्यस्तो हुनसक्ने अनुमानसहित हामीले यस विषयमा पूर्व अध्ययन र पहल थालिसकेका छौं । भिषा सकिएका नेपालीहरुलाई भिषा थप्न राजदूताबासले पहल गर्नेछ । कतारमा रहेका र घरबिदामा गएका कुनै नेपालीहरुलाई समस्या परे राजदूताबासलाई सम्झन म अनुरोध गर्दछु ।
कोरोनाको प्रभाबका कारण विभिन्न मार्केटहरु बन्द भएर अहिले धेरै बेरोजगारी भएका छन् । ती नेपालीहरुलाई कसरी उद्धार गर्ने सोचाई बनाउनुभएको छ ?
यो अबस्था पनि यो कोरोनाको आपतकालीन स्थितिले गर्दा आएको हो । यो आपतकालीन अवस्थाको कारणले गर्दा बन्द भएका कम्पनीहरु वा मार्केटहरु पछि निरन्तर सुचारु हुनेछ र रोजगारी पनि निरन्तर हुनेछ भन्नेमा हामी विश्वस्त छौ । यदि कथमकदाचित भएन भने पनि हामीले केही न केही व्यवस्था गर्ने नै छौ कतार सरकारसँग छलफल गरेर ।
अहिलेसम्म नेपालीहरुलाई चै कोरोना देखिएको छ कि छैन, कतारमा यसको जोखिम नेपालीमा कत्तिको छ ?
कोरोनाको जोखिमबाट कोही पनि मुक्त छैनन् अहिले । नेपालीहरुले त झन सावधानी अपनाउनु पर्दछ । यद्यपि हामीले हाम्रो आधिकारी संजाल माध्यमहरुमार्फत सम्पूर्ण नेपाली कामदारहरुलाई सुुसूचित गरिरहेका छौं । तर, पनि सबैले हाम्रो सुचना नपाएका पनि हुन सक्छन । उनिहरुलाई सचेत र सावधानी रहनको लागि अनुरोध गरिरहेका छौ । सरसफाइ, खानपान, लगाइ, एक्सरसाइज र नियमित चेकजाँचजस्ता कुरामा विशेष प्राथमिकता दिनुपर्दछ यस्तो बेलामा साथै अहिलेसम्म कोही पनि नेपालीलाई कोरोना देखिएको छैन । यहाँको सरकार एकदम जिम्मेवार छ । आशावादी छौ यहाँको स्वास्थ्य सेवा र यहाँको स्वास्थ्य प्रविधि उत्कृष्ट भएकाले कोरोना प्रभाब नियन्त्रण आउछ । यहाँको सरकारले आफ्ना नागरीक र आप्रवासी सबै नागरीकलाई एउटै आँखाले हेर्ने भएकोले यहाँ त्यस्तो पिर चिन्ता एवं सन्त्रास छैन बरु साबधानी भने सबैले अपनाउनको लागि सचेतना मात्र गरिएको छ ।
अन्तमा अहिलेको कोरोनाको महामारीको अबस्थामा के भन्नुहुन्छ ?
अहिले कोरोना भाईरस विश्वव्यापी चुनौती बनेको छ । हामी सबैले आफ्नो, आफ्नो परिवार र छरछिमेकीको केयर गर्नु पर्दछ । विपतको बेलामा सबै मिलेर त्यसको सावधानिपूर्वक सामना गर्नुपर्दछ । कोरोना सम्बन्धित झुटा सूचनाहरु प्रवाह गरेर मानिसलाई आतंकीत पार्नुहुदैन कसैले पनि । सबै मुलुकहरुका सरकारले पनि यस विषयलाई गम्भीरताका साथ लिनु पर्दछ । कतार सरकार र नेपाल सरकारले पनि यस विषयलाई विशेष सावधानिका साथ आत्मसाथ गर्नेछ भन्ने मलाई विश्वास छ । कतारमा रहेका सम्पूर्ण नेपालीहरु कोरोनाको त्रासपूर्ण संकटको घडीमा सजग, सचेत एवं कतारको सम्पूर्ण नीति नियमहरु पालना गरेर बस्नको लागि अनुरोध गर्दछु । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अवलम्वन गर्न र जारी गरेका निर्देशनहरुको पालना गर्नुहुन सबै नेपालीहरुलाई आग्रह गर्दछु । कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन तथा कतार सरकारको सम्पूर्ण नीति नियमहरु पालना गर्न दूतावासले यस अघि पनि पटक–पटक विभिन्न सूचनाहरु जारी गरिसकेको छ कतार सरकारको सम्वन्धित सरकारी निकायहरु– स्वास्थ्य मन्त्रालय, व्यापार तथा वाणिज्य मन्त्रालय, गृह मन्त्रालय लगायतबाट जारी हुने सबै प्रकारका निर्देशनहरुको अक्षरश पालना गर्नु हुन म सबैलाई आग्रह गर्दछु यसैगरी कतार सरकारले तोकेका निषेधित क्षेत्रहरुमा नजान र भेला नहुन पनि म आग्रह गर्दछु केहि दिनपहिले केहि नेपालीले उक्त नियम उलंघन गर्दा नेपाल फर्कनुपरेको यहाँ हरुलाई जानकारी नै छ ।
श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्तलगायत अन्य समयमा अवैधरुपमा पसल राखी समानहरुको किनबेच गर्ने पाइएको र सो कुरालाई कतार सरकारले बन्देज गरेको हुँदा कम्पनिको आधिकारीक व्यक्तिसँग तोकिएको संख्या (२ जना) मात्रै गई आधिकारिक स्थानहरुबाट मात्र किनमेल गर्नुहुन पनि म राजदूताबासको तर्फबाट आग्रह गर्दछु । हामी कतारमा बसेकाले यहाँको नियम कानुन मान्नुपर्छ । त्यसैले सबै नेपालीले कतार सरकारको कोरोना नियन्त्रनणका लागि चलाईएका कार्यक्रमहरुमा सबैलाई सहयोग गर्न अनुरोध गर्दछु । कतार सरकारले जे जस्तो गरिरहेको छ हाम्रै सुरक्षाका लागि हो भन्ने बुझांै । आफु पनि साबधानी अपनाउँ, अरुलाई पनि अपनाउन जानकारी गराऊ ।