चितवन, ९ चैत । कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै आफ्नो घरमा नै बसौं बाहिर नजाऊं भनेर भनी रहदाँ दैनिक ज्यालादारी, रोजगारी तथा बाटो र ठेलामा व्यापार गर्दै आएका गरिब नेपाली दाजु भाइहरुलाइ कसरी सम्बोधन गर्दैछ केन्द्र तथा स्थानिय सरकार ?
राज्यले त्यस्ता गरिब तथा असाहयहरूलाई गाँस बास र कपासको ग्यारेन्टी गर्न जरुरी छ । हाल सरकारसग रहेको सम्पुर्ण बजेट नागरिकको जीवन रक्षा गर्न खर्च गर्न परे पनि आफ्नो दायित्वबाट पछाडि हटन हुँदैन ।
नागरिक बाचे देशको अर्थतन्त्र फेरि सुदृढ हुन सक्छ । सरकार सँगै तपाइँ हामीले पनि आफुले सक्ने सहयोग गर्न जरुरी छ ।
हाम्रो अनावश्यक खर्चमा कटौती गरी स्थानिय टोल सुधार, विभिन्न संघ सस्था तथा आमा समूह सँग सहकार्य गर्दै त्यस्ता विपन्न बर्गका मानिसहरुलाइ अहिलेको विषम परिस्थितिमा बाँच्न सक्ने आधार बनाउनु सचेत नागरिकको कर्तव्य हो ।
अहिले आफू सँग पैसा छ, खाध्यान्न छ भनेर कोही पनि ढुक्क नभए हुन्छ । छ किनकी भोलि विषम परिस्थितिमा खान नपाउने मानिसले त्यसै टुलुटुलु भोकभोकै बस्ने अवस्था पक्कै रहँदैन र त्यो अवस्थामा बाध्यताबस लुटपाट, चोरी डकैती बढ्नेछ ।
सायद तपाइँलाई मैले नकारात्मक कुरा गरेजस्तो लाग्ला तर इतिहासमा मानिसले अभावको बेला घटाएका थुप्रै घटनाहरूको चर्चा पढन सकिन्छ । कोरोना भाइरसको समस्या हामी सबैको साझा समस्या हो र हामी सबै मिलेर लड्नु पर्दछ ।
अनावश्यक रुपमा खाध्य सामग्री भण्डारण नगरौं । राष्ट्रिय बिपदका बेला आफू भन्दा कमजोर परिवारलाइ सहयोग गर्ने र सबैले मिलिजुली यस महामारीको सामना गर्ने भावना राख्न सकेमा हामी सफल हुन सक्छौ । अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको बारेमा मात्र नसोची सामुहिक सोच राख्न जरुरी छ ।
सिंगोे विश्वमा नै मानव सामुदायको अस्तित्व सङकटमा परेका बेला सम्पुर्ण मानव समुदाय एकजुट रही कोरोना भाइरसको महामारीबाट बचौं र सबैलाई बाँच्न सक्ने अवस्था निर्माण गर्न सहयोग गरौं ।
जय देश जय जनता
( रुक्मिनी सापकोटा घिमिरे साइकल तथा सरसफाइ अभियन्ता)