५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय साथै भारत र चीनसँगको सबै नाका बन्द गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १० गते, सोमबार ०७:४७

काठमाडौं । सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका भएको आउजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमा बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
कोभिड १९ को महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मो्मिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको छ । यो कोषमा सबै मन्त्री १ र १ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ । सो कोषमा इच्छुक सबैले सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय पनि गरेको छ।
विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरण र विविध विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद्को बैठक बसेको थियो । बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा गरिएको थियो ।
गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गाैला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठक अघि प्रधानमन्त्री ओलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आव्हान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै आइतबारदेखि यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु