गोला बारुदले छुदैन धनले सक्दैन धम्क्याउन
कुर्सीको बलले र घोर छलले सक्दैन तर्साउन
राजाको घरमा धनी शहरमा नाँच्दैछ आनन्दले
मन्त्रीको तनमा पसेर भुकुत्ती खेल्दैछ आनन्दले।।१।।
लाखौं कोश उडेर नै मनुजले नाँपेर चन्द्रासन
च्यात्यो जिर्ण भयो बिशाल नभ यो चिल्थो बनायो किन
छानो झाँझर झैँ भयो जब यहाँ छेकिन्छ के ले झरी
कोरोना चुहिदै बगेर भल भो रोकिन्न कस्तै गरी।।२।।
अर्काको घरमा थियो बिपदको बर्षा भएको जब
पार्टी भोज गरेर रुग्ण दिलले बोल्दो भएथ्यो तब
आयो काल बनेर धक्धक भयो दिल्ली र सेतो घर
चाहे जैविक अस्त्र वा एटम होस् मान्दैन उस्ले डर।।३।।
कालोमा धनवानमा युवक वा नारी तथा वृद्धमा
होचोमा जलमा नदी बगरमा मान्छेहरू छन् जहाँ
केही भेद गरेन यो कहरले चौतर्फ उस्तै भयो
छोड्यो पैदलमार्ग लौ गगनमा उड्ने र घुम्ने भयो।।४।।
तातो कुण्ड बनाउने वदन नै घाटी निचोर्ने भयो
फोक्सो घात गरेर ठ्याक्क मुटुको चाला बिथोल्ने भयो
राजा वा जनता धनी गरिबमा उस्तै छ आलिङ्न
जित्नै पर्छ सबै मिलेर रण यो त्यागेर स्वार्थीपन।।५।।
शम्भु गजुरेल
नुवाकोट