• बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार २०:३९

    काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको छ । बिबिसीका अनुसार जोनसनको कोरोना टेस्ट पोजेटिभ आएको र कोरोनाको सामान्य लक्षण रहेको उल्लेख गरिएको छ ।

    बिबिसीले बेलायतको प्रधानमन्त्री कार्यालयलाई उदृत गर्दै जोनसनलाई कोरोना संक्रमण भएको उल्लेख गरेको छ । बेलायतका चिफ मेडिकल अफिसर प्रोफेसर क्रिस ह्वाइटीको आग्रहमा जोनसनले टेस्ट गरेको र टेस्ट पोजेटिभ देखिएको प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा जनाइएको छ ।

    टेस्ट पोजेटिभ आएपछि जोनसनले आफुलाई सेल्फ आइसोलेट गरेको र उनले टेस्ट पोजेटिभ आएपछि पनि सरकारको नेतृत्व गरिरहने विज्ञप्तिमा जनाइएको छ ।

    विहिबार मात्र बेलायतकै राजकुमार प्रिन्स चार्ल्सलाई समेत कोरोना संक्रमण भएको जानकारी दिइएको थियो । त्यस्तै बेलायतमा जोनसन क्याबिनेटकै एक जुनियर मन्त्रीलाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । बेलायतमा अहिलेसम्म कोरोनाबाट ११ हजार ६५८ जना संक्रमित भएका छन् भने अहिलेसम्म ५७८ जनाले ज्यान गुमाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु