बुटवल- बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ ।
उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब नबुझ्ने अडान लिएकी छन् । बाबुरामको शब पांँच दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमै छ । यसबीचमा विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानवीन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् ।
ज्वरोको समस्याका कारण चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका पाल्पा रिब्दिकोट ५ कुसुमखोला घर भई सैनामैना–४ मा बस्दै आएका थापालाई धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल मातहत सञ्चालित अस्पतालमा भर्ना भएको चौथो दिन थापाको चैत १६ गते ज्यान गएको थियो ।
उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको र दोस्रो दिन मात्रै नेगेटिभ रिपोर्ट आएको थियो । थापाको मृत्युपछि अस्पतालको लापरवाही भन्दै चौतर्फी आलोचना भइरहेको छ ।