एउटा अर्को ज़िन्दगी।।।
आजसम्म मैले
जिवन भन्दा मृत्यू नजीकबाट हेरेकिछु
थुप्रै मृत्यू आखै अगाडी मरे
थुप्रै मृत्यू मर्दा मर्दै थाहा पाए
र थुप्रै जिन्दगीले मृत्यू स्विकारेको पनि देखे।
म आफै पनि
धेरै पटक मृत्यू स्विकारेर जिएकी छु।
ज़िन्दगीले हार्दा, पैसा नकमाउदा, सम्पति जोड्न नसक्दा,
असफलताहरु हातलाग्दा,
यि सबै सबै बेलामा
मेरो चित्त बुझाई हुन्थ्यो
“आ!! एक दिन सबै मर्ने त हो नी!!”
म लखतरान भै थाकेर घर फर्किदा
मनमनै सोच्ने गर्थे
मरिलानु के छ र? यति धेरै दौड़धूप र थकान??
मन विरक्त हुदा म सधै मृत्यू स्विकार गर्थे र
घंटौ सम्म पशुपति आर्यघाटमा जलिरहेका लास हेर्थे।
साँझ पंख जलिरहेको लास, बलिरहेको आरती संगै
रोईरहेका र नाचिरहेका मानव
म घंटौ सम्म ज़िन्दगी तुलना गर्थे
अनि मृत्यूलाई स्विकार गरेर घर फर्किन्थे।
धेरैलाई संझाएकि छु
मर्नु छदैछ,
लोभ नगर, हिंसा नगर, दु:खी नहौ र यस्तै थुप्रै
मैले आखै अगाडी
जनयुद्ध ताका कैयौ मान्छेको लासको खात देखे
भूकम्प जादा हजारौ मान्छे छिनमै लास बनेको देखे।
बाढी, पहिरो र दुर्घटनाले दैनिक सामुहिक लास देखे।
अहिले पनि छिन छिन मै मान्छे मरिरहेछ।
मृत्यू जित्न नसकेरै,
तर….तर यति बेला
म
म हामी अनि हामी सप्पै
मृत्यूलाई जित्न बन्दकोठामा थुनिएका छौ
लुकेका छौ संभावित मृत्यूलाई रोक्न।
बाहिर सडकमा पुलिस बसेका छन्
कालनै हो कि भनेर बाटोमा हिडेका मानिस छेक्न
कसैलाई थाहा छैन
अब कति बेर बाच्नु छ भनेर
कति दिन खानु छ भनेर
फेरि पनि मान्छे
लुकिरहेछौ बाच्न भनेर।
थुप्रै पटक जिवन हारेर मृत्यू स्विकारेकी म
अब एउटा अर्को ज़िन्दगी बाच्नु छ
र हेर्नु छ,
यि सुनसान सडक फेरि खचा-खच भएको
पसल र बजार झलमल्ल भएको
साथीहरु संग अट्टहास गरेको
संसार मेरै हो भनेर बेफुर्सदिलो भएको
यो सप्पै सप्पै गर्नु छ।
यसैले मैले ज़िन्दगी जिउनु छ
र त म
बन्द कोठामा बसिरहेछु।
संभावित मृत्यूबाट आफुलाई बचाईरहेछु।
देवु पराजुली
२०७६/१२/२२