लकडाउनको आज १२ औं दिन काठमाडौं उपत्यकालगायत देशभरका मुख्य शहर सुनसान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २२ गते, शनिबार ०९:१६

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १२ औं दिनहो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

तर, पछिल्लो दिनमा केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ । सरकारले आगामी मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्। गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ ।

लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ। प्रहरीले शनिवार बिहान मात्र उपत्यकाबाट १३ सय ४५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। १ हजार ६४ जना पुरुष र २८१ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्म उपत्यकाभित्रबाट उनीहरुलाई जनालाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौंमा नियन्त्रणमा लिइएको हो।

लकडाउनमा हिँड्ने मानिसलाई प्रहरीले तीन घण्टासम्म सडकमा राख्ने गर्दछ। यो लकडाउन २५ चैतसम्म चल्नेछ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ ।

प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैक्रममा सरकारले शुक्रबारदेखि लकडाउन केही खुकुलो पनि बनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले सरकारले खेतिबाली लगाउन र भित्र्याउन अवरोध नगर्ने जनाएको छ । बाहिरी श्रमिकको उपस्तिथिबिना परिवार र समाज मिलेर बाली भित्र्याउन र लगाउन दिने निर्णय गरेको छ ।

सरकारले अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग, सेवा तथा ठूला विकास निर्माणका आयोजनाको काम पनि जारी राख्न भनेको छ । आयोजना भित्रै रहेका मजदूरलाई सुरक्षाका सामग्री लगाएर काममा परिचालन गर्न सरकारले निर्देशन दिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु