• ठट्टा नसोच्दा भयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ०९:५४

    छन्द:शार्दूलविक्रीडित

    आँखा छैन भनेर भन्नु कसरी चस्माहरू बिक्दछन्
    कानै बन्द भए भनौं यदिभने मिथ्या सबै सुन्दछन्
    गोडा छन् बलिया भनौं पनि भने सग्लो कुनै देख्दिन
    बैसाखी करमा सबै मनुजको खाली कतै भेट्दिन।।१।।

    खानाको अनिकाल भो त किन लौ फ्याँकिन्छ रोटी भन
    नाङ्गो देह भयो भनेर नभनौं त्यस्तै छ रे फेसन
    चुल्ठो बाट्दछ शानले पुरुषले नारी बिना केशमा
    जप्छन् राम कठै छली मनुजले वैराग्य को भेषमा।।२।।

    आफ्नो वर्णन गर्नमा अब यहाँ बोल्दैछ लाटो पनि
    खाएको तुष जो थियो उदरमा छाद्दै छ बाठो बनि
    वान्ता गर्दछ भ्रष्टले जिउभरी छ्याप्दैछ अर्कैतिर
    फोस्रो स्वाङ घसेर बोल्दछ अझै दानी हुँदै आखिर ।।३।।

    खाँचो औषधको भयो खरिदमा हाल्ने तगारो अनि
    ठोक्दै थाल गरे बिरोध सजिलै छोडेन कुर्सी भनी
    रातारात कयौं मरे भुवनमा माग्दैछ निर्वाचन
    मान्छेको हितका निमित्त भन के खाँचो छ निर्वाचन ।।४।।

    झोला थाप्छ लिएर राहत हरे खोच्याउदै बोक्दछ
    लाजै छैन बुझो ठुसेर मुखमा होच्याउदै बोल्दछ
    फोस्सा खान रमाउने कुकुर नै भौं भौं सदा भुक्दछ
    सार्‍है आपदको घडी नजिकमा अदृश्य भै लुक्दछ।।५।।

    कालो सर्प मडारिदै जहरको बर्षा गरे झैँ भयो
    मान्छेको कुल नासिने डगर हो ठट्टा नसोच्दा भयो
    छोडौं र्‍याल चुहाउने दिनहरू होलान् अनेकौं अरु
    बाँचे जीवनमा लडेर लिउँला पालो र पैंचो बरु।।६।।

    शम्भु गजुरेल
    नुवाकोट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु