यो हो बर्ष नेपाल बर्ष युग को चम्कन्छ संंसारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ३० गते, आईतवार १२:३४

यो हो बर्ष नेपाल बर्ष
युग को चम्कन्छ संंसारमा


झुल्के घाम हिमालभो झिलिमिली स्वर्णिम घुम्टो भरी
आफैमा सुकुमार छन धरती नै बासन्तको मञ्जरी
कोईली सुरिलो गरी कु हु कु हु भन्दै बसि डालिमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

कोरोना बनि काल यो धरतिमा आजै अगाडी सर्यो
शाक्ति शालीहरु भए थरहरी यस्ले नगर्नु गर्यो
नयाँ बर्ष समाप्त पार्छ क्रुरता फ्याँकेर रछ्यानमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

जे जस्तो युग शत्रु आउँछ भने यो धर्तिलाई छुन
त्यस्ले खोजिरहेछ मार्ग सहजै पुग्ला खरानी हुन
के ले छुन्छर कुञ्ज यो शिवजीको बुटी छ भण्डारमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

पौरख गर्नु युग सारथीहरु कस्को गुलामी बने
युवा जोस खरानी झै सरी भयो खाडी पुगेरैै रुने
आउ यो मृतिका भरौँ सलिलता संञ्जिवनी साथमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

वासन्ति नव कुञ्जको लहरमा माला सरी जग्मग
मेरै यो कुटिया सुरम्य फुलको बास्ना हुने मग्मग
कैल्यै झुक्नु परेन दुष्टहरुको सामू कुनै युगमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

आँखैमा झलमल्लछन ति छहरा हिमाल नाच्छन यहाँ
सीता माईत आउछिन जब यही हो बुद्ध बस्छन जहाँ
आराध्य बनि बस्तछन शिव पनि कैलाशमै ध्यानमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

माटो मै छ सुवर्ण रत्न सबको बारी करेसा भरि
खोश्रौ आउ जमिन खेती गरदा फल्ला मुरी का मुरी
खाउँ शुद्ध फलाई अन्न फलले ढाकी यिनै फाँटमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

कोरोना अव त्राशदी बनि यही धर्ति भरि झाँगियो
शाक्तिशाली समेतको घर पनि छोडेन सातो लियो
मार्यो मानिस मर्नु हुन्न सवले लाग्नु छ निर्माणमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

हो यो बुद्ध भूमि सजाउँ चुलि यै शन्ति र सम्बृद्धिको
संसारै भरि छर्दिने सुख सुधा आधार यै युुगको
नौलो युग छ ल्याउनु शुभघडी यै विश्वको फाँटमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा
१०
लागौ श्रेष्ठ नेपाल हो अब बुझौँ क्वै छैन बाँकी अरु
हिमाली बन कुञ्जको छ रमिता पाखा पखेरा हरु
कोरोना अब फालिद्युँ किन झर्यो ज्यानै लिने ताकमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा
११
तराई तिर फाँटमा लहलही धानै झुलेका गरा
पाखामा पनि भेटिने बुटिहरु खन्दा अनेकौ जरा
बैसाखी बनमा जमे चिरी विरी चरा बसी डालिमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा
१२
गाई गोठ छ घाँस पात गरदै युवाहरु छन खुशी
बाख्रा खोर भरि कमाई छ ठूलो आफ्नै घरैमा बसी
माटोमा सुनको भण्डार कति हो पाईन्छ यै धर्तिमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा
१३
कस्तुरी मृगको सुगन्ध लहरी ढाकेर पाखा भरी
संसारै सुकुमार हुन्छ हिमको पर्दा लगाए सरी
पैलो घाम छ झुल्किने लहरझै हिमालको शिरमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा
१४
शान्तिको दिप बाल्दछौ सब यही नेपाल मन्दिर हो
सारा त्राशदी ध्वस्त हुन्छ सहजै यो शान्ति उद्यान हो
साझा होस शुख शान्ति विश्व भरि नै यसै नयाँ बर्षमा
यो हो बर्ष नेपाल बर्ष युगको चम्कन्छ संसारमा

बाबाधामको कोसेली ३० चैत्र २०७६
उकाली ओरालीको बर्ष २०७६ को विदाईमा शिव अधिकारी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु