नयाँ वर्षको साँझ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १ गते, सोमबार १७:५१

रूपा थापा नुवाकोट ।
नयाँ वर्षको साँझ
फेरि पनि छुटेका आफ्नै ती पाइलाहरुसँग
नियाल्दै छु गगनहरू त्यसरी नै
भोलि फेरि छुट्ने आफ्नै पाइलाहरुसँग

यो नयाँ वर्षको साँझ
त्यही वरपिपलको चौतारीमा गएर खोजे
मेरा मुस्कानहरू अनि मेरा यादहरू
छुटेका ती पाइलाहरूसँग
गासिएका यादका चौतारीहरू
साएद कहिले काही त सम्झिदा हुन मलाई
सँगै हिडेका ती गोरेटोहरुले

गाइने दाइका सारङ्गिका ती भाकाहरू
चिसो ती मुलका पानीहरू
बोटभरि फलेका ती ऐसेलु र काफलहरू
अनि मुस्कुराइरहेका ती लालीगुराँसहरू

त्यो वरपिपलको चौतारी
जहा अँझै वाकि छन्
तिमीले कोरेका बागचालका ती रेखाहरू
गोठालाका ती मुस्कानहरू
भरियाका ती थकानहरू
अनि तिमीले गुनगुनाएका ती गीतहरू

ओइलाएर झरेका ती पातहरूसँगै
पलाएका नयाँ पालुवाहरूसँग
त्यो मुक्त आकाशमा मुस्कुराइरहेका जुनहरूसँग
साएद तिमी पनि मुस्कुराउदै होलाउ कतै
त्यही जुनहरू हेर्दै यो नयाँ वर्षको साझमा

केही यादहरू भुल्दै केही नयाँ यादहरू समेट्दै
अनि मुस्कुराउदै होलाउ
क्यानाभासमा त्यही तस्विरहरू कोर्दे
त्यही पानी अमला र चुत्राका स्वादहरू सम्झिदै
त्यो तस्विरमा फेरि नयाँ रङ्गहरू भर्दै
त्यही कोइलीको कुहु कुहु आवाजसँगै
पौडिएको त्यो खोलीलाई सम्झदै

जे होस त्यही वर पिपलको चौतारीमा
यो नयाँ वर्षको साँझ आज फेरि मुस्कुराए
साएद सम्झिदै होलाउ कतै तिमी पनि
यो नयाँ वर्षको साँझ
नियाल्दै ती गगनहरुमा
छुटेका आफ्नै पाइलाहरुलाई

नया वर्ष २०७७ सालकाे पावन अवसरमा सम्पुर्ण मित्रहरूमा शुभकामना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु