ईश्वर अर्यालको नेतृत्वमा तारकेश्वरका तीन वडामा साबुनपानीले हात धुने अभियान, सबै वडामा विस्तार हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार २१:४१

नुवाकोट ।विश्वव्यापी कोरोना महामारीबाट बच्न नुवाकोटको तारकेश्वर गाउँपालिका ६, भमराबाट सुरु भएको साबुनपानीले हात धुने अभियान गाउँपालिकाभर विस्तार गरिँदै छ । स्थानीय समाजसेवी ईश्वर अर्यालको नेतृत्वमा हात धुन सिकाउने अभियानमा जुटेको गोमादेवी मेघनाथ अर्याल स्मृति संस्थाले तारकेश्वर वडा नंं. १, ५ र ६ का विभिन्न स्थानमा ट्याङ्की राखेर साबुनपानीले हात धुने व्यवस्था गरेको छ । संस्थाले केही दिनअघि भमरा आधारभूत विद्यालय छेउको सडक पेटीमा ट्याङ्की राखेर साबुनपानीले हात धुन सिकाउने अभियान सुरु गरेको थियो ।

अभियानको नेतृत्व गरेका संस्थाका अध्यक्ष ईश्वर अर्याल स्व. गोमादेवी अर्यालको पुण्यतिथिको अवसर पारेर संस्थाले हात धुने अभियानलाई गाउँपालिकाका ६ वटै वडामा विस्तार गर्न लागेको बताउँछन् । उनका अनुसार, तीनवटा वडामा लोकप्रिय भइरहेको अभियान बाँकी तीन वडामा पनि छिटै विस्तार हुनेछ । साबुनपानीले हात धुनु नै भाइरल संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भएकाले आफ्नो अभियान कोरोना रोकथाममा निकै फलदायी हुने अध्यक्ष अर्यालको विश्वास छ ।

‘आखिर यो भाइरसबाट बच्ने सर्वोत्तम उपाय साबुनपानीले हात धुनु नै रहेछ,’ हामीसँगको संक्षिप्त टेलिफोन संवादमा अध्यक्ष अर्यालले भने, ‘त्यसैले बालकदेखि वृद्धसम्म सबैलाई पटक-पटक हात धोइरहन प्रोत्साहन गर्ने हेतुले यो अभियानमा जुटेका हौं ।’

गाउँवासीलाई कोरोनासँग लड्न प्रोत्साहित गर्ने अभियानमा जुटेका अर्याल भन्छन्, ‘हाम्रो अभियान जारी छ । छिटै यो अभियानलाई गाउँपालिकाभरि विस्तार गर्दै छौँ ।’

लामो समय शिक्षण पेसामा बिताएका अर्याल वर्षौंदेखि समाजसेवाका काममा सक्रिय छन् । गाउँको शिक्षा, खानेपानी, सरसफाइ लगायत क्षेत्रको विकासमा उनको उल्लेख्य योगदान रहेको स्थानीयहरू बताउँछन् ।

यतिखेर संस्थाका स्वयंसेवकहरू स्थानीय वृद्धवृद्धालाई हात धुन सिकाइरहेका छन् । संस्थाले साबुनपानीले हात धुनुका अतिरिक्त व्यक्तिगत सरसफाइका अन्य तौर-तरिकाबारे पनि सचेतना जगाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु