फर्किन्न राम्रो दिन
छन्द:शार्दूलविक्रीडित
गाला पुष्ट हुँदा उडेर नभमा नाँच्यौ तिमी नर्कमा
मिथ्या लोभ सजाउँदा मनभरी इच्छा गयो गर्तमा
अर्काको करिया मिठो जब भयो भण्डार बिर्स्यौ किन
आमा बाबु जहानको नजरमा फर्केन राम्रो दिन।।१।।
छाला हाड तथा छ प्राण तनमा ढल्दो छ जस्को वय
पैसा प्रेम र जिन्दगी हुनगयो बेकामको सन्चय
तिम्रो साथ रमाउने रहरमा बर्छा चलायौ किन
प्यारी को अनुहार हाँस्न नसके फर्किन्न राम्रो दिन।।२।।
भान्छामा जति नै मिठा फल रहुन् खाँचो छ तिम्रो यहाँ
तिम्रा कोमल पाउको चपलता खोज्दै छु एकान्तमा
साडी बस्छ दराजमा बिरसिलो ढुङ्री र मुन्द्री रिङ
यो प्यासी तनमा छ प्यास धनले फर्किन्न राम्रो दिन।।३।।
पोते रुन्छ दराजमा गहभरी बग्दै छ पानी झरी
चड्दो यौवनको बतास मनमा चल्दैछ आँधी सरि
खोले खाई रमाउनै उचित भो चाहिन्न चाँदी धन
आत्मा रुन्छ भने अपार धनले फर्किन्न राम्रो दिन।।४।।
घुम्टो लाज लुकाउँदै नजरको जिस्क्याउने रातमा
बल्दो यौवनले धपक्क तन यो एक्लो भयो खाटमा
खाडी छोड र फर्क आज घरमा प्यारो छ आलिङ्गन
ज्यूँदो लास भएर रास सुनले पाइन्न राम्रो दिन।।५।।
शम्भु गजुरेल
बेलकोटगढी-९
नुवाकोट