• हरी पौडेलकाे नेकपाका इमानदार कार्यकर्तालाई प्रश्न ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १८:१५

    हरी प्रसाद पौडेल – समाजकाे सचेत नागरिकका हिसाबले सामाजिक रुपान्तरण र अग्रगमनका लागि कुनै एक प्रगतिशील मानिएको दल राेज्नु स्वाभाविक र अनिवार्य मानिन्छ लाेकतान्त्रिक शासन व्यवस्थामा। राजनीतिक दलकाे कार्यकर्ता हुनु र इमानदार हुनुकाे अर्थ याे हाेइन कि अाफू समर्थक दलले जे जस्तो नीति, कार्यक्रम ल्याअाेस् वा नेतृत्वले जनपक्षीय काम गरेास् वा नगराेस् त्यसलाई अन्धभक्त भई सहीछाप ठाेक्नै पराेस्।

    हिजो प्रदेश र केन्द्र सरकारकाे निर्वाचन पूर्व अचानक तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी बीच पार्टी एकीकरण गरियो। पानी बाराबारकाे स्थितिमा रहेका दुई दलबीचको एकीकरणले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण ल्यायाे। वामपन्थी एकताले पक्कै शुभ सङ्केत देला भन्ठानेर मन अमिलो पारेरै भए पनि कार्यकर्ताले एकीकरण सहर्ष स्वीकारे। एकीकरणले नेकपालाई झन्डै दुई तिहाई मत दिलायाे र शक्तिशाली पार्टीको शक्तिशाली सरकार निर्माण भयाे।

    पार्टी नेतृत्वले हिजो किन अचानक पार्टी एकीकरण गर्याे त ?

    त्यसले अाम जनतालाई के कति फाइदा पुर्यायाे ? त्यसको समीक्षा हुने नै छ तर ध्रुव सत्य याे हाे कि एकीकरणले चुनावमा राम्रो मत दिलायाे । नेकपाका एउटा अध्यक्षलाई प्रधानमन्त्री बनायाे। नेतृत्वका अघिपछि रहिरहने नेताजीलाई मन्त्री बनायो। केही अासेपासेलाई सल्लाहकार बनायो। केही अवसरवादीहरूलाई थप अवसर दिलायाे। टाठाबाठा कार्यकर्तालाई वैदेशिक भ्रमण दिलायाे। स्वार्थका लागि दल राेजेका केही व्यावसायिक प्रतिष्ठान, ठेकेदारहरूलाई मालामाल बनायो। अाम जनतालाई खासै परिवर्तन गरेन र पनि इमानदार कार्यकर्ता पाँच वर्षभित्र त पक्कै केही हाेला भन्दै प्रतीक्षामा दिन काटिरहेका छन्।

    प्रसङ्ग भर्खर सरकारले ल्याएका दुई अध्यादेशतिर माेडाैँ। विश्व काेराेना भाइरसले सङ्क्रमित भइरहेको र सम्पूर्ण शक्ति त्यसमै केन्द्रित भइरहेकाे अवस्थामा सरकारले अाफ्नै पार्टीको उच्च तहमा समेत छलफल नचलाई किन अध्यादेश ल्यायो त? त्यसले अाम नागरिकका दैनिक सबालमा कुनै सकारात्मक प्रभाव पार्छ त? पक्कै पनि पार्दैन। शक्तिशाली दलको शक्तिशाली सरकारले किन अचानक दल विभाजनका लागि सहज हुने बाटो राेज्याे? कानुन कसैकाे निहित स्वार्थ पूरा गर्ने अाैजार हाे र? हाेइन र हुनु हुँदैन। संवैधानिक परिषद्का अाफ्न‌ै अादर्श र मान्यता हाेलान्। म त्यसभित्र छिर्न चाहन्न तर याे घडीमा ल्याइएकाे उक्त प्रस्ताव अमुक स्वार्थ पूर्तिका लागि नै हाे भन्ने कुरा जाे काेहीले पनि अड्कल गर्न सक्छ।

    नेकपाका इमानदार नेता, कार्यकर्ताहरू! कहिलेसम्म हामी नेतृत्वका हरेर गतिविधि मूकदर्शक बनेर हेरिरहने? वर्षाैपछिकाे स्थिर सरकारलाई छिन्नबिन्न बनाउन मलजल गर्ने, पुन: अस्थिरता निम्याउने मार्ग प्रशस्त गरिदिने, संवैधानिक परिषद्लाई स्वार्थ पूर्तिकाे माध्यम बनाउने गरी अाएका अध्यादेश कसैका हितमा छैनन्। हामीलाई स्थिरता चाहिएको छ,गरी खाने वातावरण चाहिएको छ र कानुनी राज्यको प्रत्याभूति हुने वातावरण चाहिएको छ। कसैले अमुक स्वार्थ सिद्धिका लागि दल फुटाउने, मध्यावधि निर्वाचन गराउने या यस्तै असान्दर्भिक गतिविधि गर्ने गरी अगाडि बढे भने इमानदार कार्यकर्ता रैती बनेर उनैसँग सती जाने वा स्थिरताका लागि अाफ्नाे पार्टीमा दबाब सिर्जना गर्ने? याे यक्ष प्रश्न इमानदार नेता कार्यकर्ता बीच राख्न चाहन्छु।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु